काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन र अधिकार प्राप्तिका लागि नेपालका हजारौं महिलाको संघर्षकै कारण अहिले पुरुषले सत्ताको नेतृत्व लिन सकेको बताएका छन्। आइतबार राजधानीमा मानव अधिकारका लागि महिला समूहले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘गरिब, पिछडिएका महिलाले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको संघर्षकै कारण समाज र राजनीति यहाँसम्म आएको छ। महिलाले संघर्ष र बलिदानीका क्रममा रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौं।’
महिलाको सहभागिता र भूमिकाबिना संसारमा कहीँ पनि परिवर्तन नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। उनले संघर्षकै कारण राज्यका सबै अंगमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन सकिएको बताए। ‘स्थानीय तहदेखि केन्द्रसम्म महिला प्रतिनिधित्व भए पनि यो अझै पर्याप्त छैन। पुरुषसरह महिलाका हकधिकार स्थापित गर्न थप प्रयत्न आवश्यक छ’, उनले भने।
प्रधानमन्त्रीले कानुनमा भएको प्रगतिशील व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबैको साथ र सहयोग जरुरी रहेको औंल्याए। सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनले त्यसका लागि महिलामा सामाजिक चेतना र जागरण जरुरी रहेकामा जोड दिए।
प्रधानमन्त्रीले संविधानमा एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित भएको बताए। ‘यो न्यायोचित माग हो। यसमा हामी छलफल गर्नेछौं। एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईंहरूले जे–जति प्रश्न उठाउनुभएको छ, सम्बोधन गरिनेछ,’ उनले भने। २७ वर्ष अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गरे।