काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन तथा व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन्। सामाजिक सञ्जाल आम सञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेकाले त्यसलाई सरकारी तवरबाटै व्यवस्थापन गर्नुपर्ने उनले बताए।
बिहीबार काठमाडौंमा आयोजित आमनिर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन्। उनले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्नुपर्नेमा जोड दिए।
‘सामाजिक सञ्जाललाई कहाँ, कसले हेर्ने हो? प्रेस काउन्सिलले हेर्न सक्छ÷सक्दैन? यसलाई दायरामा ल्याएर व्यवस्थापन र नियमन गरिहाल्नुपर्छ’, उनले भने। सबै सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित हुने सामग्री स्वतः आउने गरी सफ्टवेयर विकास गर्न काउन्सिलसँग उनले आग्रह गरे।