बाँके– कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको बताएका छन्। बिहीबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटमा नेता महतले यस्तो बताएका हुन्।
‘प्रधानमन्त्री प्रचण्डको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिए पनि सरकारमा जान होइन। सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेरै कांग्रेसले सरकारको समर्थन गरेको हो। तर कांग्रेसले गरेको समर्थनको अर्थ बेअर्थ भयो,’ उनले भने।
कांग्रेसले सदनमा गुण र दोषका आधारमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिने उनले बताए। सरकारलाई समर्थन गरे पनि मन्त्री खानैका लागि नभएको महतको दाबी छ। प्रधानमन्त्री प्रचण्डले संविधान रक्षाका लागि उभिन्छु र समझदारी विकास गर्छु भनेकाले त्यो प्रतिबद्धताको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको महतको भनाइ छ।
संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्यांकनमा त्रुटि भएकाले गठबन्धन भत्किएको दाबी गरे।