काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमाले छाडेका नेता घनश्याम भुसाललाई पार्टी महासचिवको जिम्मेवारी दिने भएको छ। नेकपा एसले हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भुसाललाई महासचिव बनाउने तयारी गरेको हो।
भूसाललाई महासचिव बनाउने सहमति जुटिसकेको र २१–२२ माघमा हुने केन्द्रीय कमिटी बैठकले यसको औपचारिक निर्णय गर्ने पार्टीका एक स्थायी कमिटी सदस्यले बताए। भुसाल एमाले विभाजनका क्रममा सुरुमा माधव नेपालतर्फ लागेका १० भाइमध्येका हुन्।
पार्टी विभाजनपछि उनी नेकपा एसमा नगएर एमालेमै बसेका थिए। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले उम्मेदवार नबनाएपछि उनले उक्त पार्टी परित्याग गरेका थिए। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एसलगायतको दलको समर्थनमा उनले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर भुसाललाई हराउँदै त्यहाँबाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित भएका थिए।
गत २९ पुसमा भुसाल नेकपा एसमा प्रवेश गरेका थिए। पार्टीले उनलाई स्थायी सदस्यमा मनोनीत गरेको थियो।
नेकपा एसले वामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने तयारी गरेको छ। वामदेवसँगको छलफल सकारात्मक भएको र चाँडै उनले पनि पार्टी प्रवेश गर्ने ती नेताले दाबी गरे। वामदेवलाई उपाध्यक्ष दिने गरी पार्टीले तयारी गरेको हो।
एमाले विभाजनपछि उनले नेकपा एकता अभियान चलाएर पार्टीसमेत गठन गरेकामा त्यसयता राजनीतिमा सक्रिय देखिँदैनन्।