काठमाडौं– प्रदेश सरकारमा मन्त्रालय फुटाएर भागबन्डा मिलाउने गरेको प्रतिक्रियास्वरुप संरचनामाथि नै प्रश्नचिह्न उठेका बेला राष्ट्रिय सभा सदस्य एवं संघीयताविद् खिमलाल देवकोटाले संघीय सरकारमा धेरै मन्त्रालय र मन्त्रीको संख्या आवश्यक नभएको बताएका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेता देवकोटाले जनतालाई सेवा–सुविधा दिने सवालमा थोरै मन्त्रालय भए पनि प्रभावकारी हुने दाबी गरेका हुन्।
उनले भने, ‘केन्द्रमा संविधानबमोजिम प्रधानमन्त्री सहित २५ जना मन्त्री हुने व्यवस्था छ। स्वीट्जरल्यान्डको संविधानमा प्रधानमन्त्रीलाई चान्सलर भनिँदो रहेछ। चान्सलरसहित सात जना मन्त्री बनाउन नपाउने व्यवस्था स्पष्ट रूपमा उल्लेख छ। हाम्रोमा धेरै मन्त्रालय र मन्त्री किन चाहियो?’
संघीय सरकारमा २२ मन्त्रालयको संख्या धेरै रहेकाले यसलाई घटाउनुपर्ने धारणा उनको छ। उनले भने, ‘अहिले संघमा मन्त्रालयको संख्या २२ छ, जुन बढी हो। धेरै अधिकार तल गइसकेको अवस्थामा केन्द्रमा धेरै मन्त्रालय चाहिँदैन। धेरै मन्त्रालय र मन्त्रीको सङ्ख्या चाहिँदैन। हाम्रा संरचना चुस्त बनाए पुग्छ।’