काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिले पनि राष्ट्रिय सहमतिको आवश्यकता रहिरहेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा नेता पौडेलले विभिन्न तीन कारण उप्काएर राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिएका हुन्।
उनले भने, ‘आज तीन कारणले देशलाई राष्ट्रिय सहमतिको आवश्यकता छ। एउटा कुरो, मुलुकको कमसल आर्थिक अवस्था। अर्को, भू–राजनीतिक दबाब र शान्ति प्रक्रिया अझै पूरा भइसकेको छैन। १२ वर्षे द्वन्द्वले देशलाई कति ठूलो घाउ लागेको छ? कति ठूलो चोट परेको छ? शान्ति प्रक्रियालाई पूरा गर्नु हाम्रो कर्तव्य हो।’
राजनीतिक दलहरूको आडभरोसामा भ्रष्टाचार गर्नेलाई निरुत्साहित गर्न पनि सबै एक ठाउँ हुनैपर्नेमा उनको जोड छ। ‘देशले अहिले कुशासन भोग्नुपरेको अनुभूति हुन्छ। हामीले शासनको विकेन्द्रीकरण गर्यौं। कता–कता भ्रष्टाचारको विकेन्द्रीकरण भएको देखिन्छ। यसलाई रोक्न सबै एकजुट हुन आवश्यक छ। भ्रष्टाचार गर्नेहरूलाई राजनीतिक दलले आडभरोसा दिइरहेका छन्। त्यसलाई निरुत्साहित गर्न सबै एक ठाउँ हुनुपर्छ।’
नेता पौडेलले संसदमै मुलुकलाई नेतृत्व दिने सद्व्यक्तिको अभाव रहेको जिकिर गरे। पौडेलले राजनीतिज्ञलाई आफैंप्रति विश्वास नभएको दाबी गरे। उनले निष्ठाको राजनीति जोगाउन एकताको खोजी गर्ने कि नगर्ने भनेर संसद्मा प्रश्न गरे।