काठमाडौं– नवनियुक्त संघीय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको सपथ लिएका छन्। शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्।
सपथपछि सभामुख घिमिरेले लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पद वहाली गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
बिहीबार भएको निर्वाचनमा घिमिरे १६७ सांसदको मत पाएर सभामुख निर्वाचित भएका थिए। विपक्षमा कांग्रेस गठबन्धनकी ईश्वरी न्यौपानेले १०० मत ल्याइन्। सभामुख घिमिरेले आजदेखि एमालेको पार्टी सदस्यतासमेत त्यागेका छन्।