विराटनगर– प्रदेश १ का मन्त्रीहरूको कार्य विभाजन सोमबार हुने भएको छ।
विना विभागीय मन्त्रीका रुपमा रहेका सबै मन्त्रीले सोमबारबाट सम्बन्धित मन्त्रालयबाट कार्य सुरु गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।
बिहीबार पत्रकारहरूसँगको भेटमा मुख्यमन्त्री कार्कीले विना विभागीयका रूपमा काम गरिरहेका सबै मन्त्रीले सोमबारबाट विभागीय मन्त्रालयको जिम्मेवारी पाउने उनको भनाई छ। मुख्यमन्त्री कार्कीले भने, 'आइतबारबाट जिम्मेवारी सम्हाल्नेगरि तयारी भएपनि सार्वजनिक विदाका कारण सोमबारको तयारी गरिएको हो।’
मन्त्रिपरिषद्को पहिलो बैठकले कायम रहेको मन्त्रालयको संख्या घटाउने निर्णय अनुसार अहिले मन्त्रालयको नामलाई अन्तिम रुप दिने काम भइरहेको मुख्यमन्त्री कार्कीले बताए। मन्त्रालउ गाभे पनि चालु आर्थिक वर्षको मन्त्रालयगत बजेटमा कुनै समस्या नहुने उनले बताए।
गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले पुस २५ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। पुस २९ गते प्रदेशसभाबाट विश्वासको मत लिनुअघि ३ जना मन्त्री थप्दै मन्त्रिपरिषद् ७ सदस्यीय भएको छ। नवनियुक्त सवै मन्त्रीको जिम्मेवारी तोकीएको छैन। प्रदेश १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित हाल १३ वटा मन्त्रालय रहेका छन्। मुख्यमन्त्रीसहित सवै मन्त्रालयको जिम्मेवारी अहिले मुख्यमन्त्री कार्की मातहत रहेको छ। हाल कायम रहेका मन्त्रालयलाई ९ वटामा कायम गरी जिम्मेवारी दिने मुख्यमन्त्री कार्कीको तयारी छ।
राजेन्द्र राई नेतृत्वको सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालयलाई बढाएर १३ वटा पुर्याएको थियो।