काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताएका छन्। सत्ता साझेदार दलहरुबीच भएको सहमति पनि त्यही भएको उनले स्पष्ट पारे।
बिहीबार संसद् बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे प्रश्न गरेका थिए। जवाफमा ओलीले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो। त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ।’
कांग्रेसले गठबन्धन भत्काउने र आफ्नो उम्मेदवार राष्ट्रपति हुने बताएको सन्दर्भमा ओलीले हाँस्दै भने- ठीकै छ। एमालेको राष्ट्रपति उम्मेदवार को भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा ओलीले पछि भनौंला भनेर टारे।
प्रधानमन्त्री पुष्पकमल दाहालले भने राष्ट्रपतिमा समझदारीका लागि प्रयासरत रहेको बताएका छन्। संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यसका लागि सत्ता साझेदार दलहरूसँग छलफल गरिरहेको बताए।
आज सभामुख पदमा गठबन्धनकै उम्मेदवार निर्वाचित भएको भन्दै उपसभामुखमा पनि यसैगरी गठबन्धनकै उम्मेदवार निर्वाचित हुने बताए। उनले राष्ट्रपति निर्वाचनका लागि समय रहेको भन्दै त्यसका लागि समझदारीको प्रयास भइरहेको बताए। 'राष्ट्रपतिमा कुनै समझदारी भइदिए हुन्थ्यो भनेर म प्रयास गर्दैछु। यस विषयमा सत्ता साझेदार दलहरूसँग छलफल भइरहेको छ,' उनले भने।