काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा कांग्रेसबाट अगाडि सारिएकी उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताएका छन्। बिहीबार सभामुखको निर्वाचनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै नेता केसीले जे–जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरीलाई मत हाल्ने उद्घोष गरेका हुन्।
उनले कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोप्रति रोष प्रकट गरे। तर सभामुखमा मतदानका लागि अर्को विकल्प नभएकाले कांग्रेसकै उम्मेदवारलाई मत दिने निर्णयमा पार्टी पुगेको उनको भनाइ छ।
नयाँ सरकार गठनका बेला धेरै नाटक देखिएको बताउँदै नेता केसीले भने, ‘निर्वाचनका बेला लोकतन्त्र संस्थागत गर्न सकेनौं। बेकम्मा भयौं। गणतन्त्रका लागि लडेका, पञ्चायतविरोधी लडेका हामी निकम्मा भयौं भनेर हल्ला चलेको थियो। नयाँ आउनुपर्छ भनिएको थियो। नयाँको स्थिति पनि देखिँदै छ।’