मंगलबार, साउन ७, २०८२

सभामुख देवराज : मदन भण्डारीले पत्याएका ओलीका विश्वासपात्र

मदन भण्डारीको रहस्यमय मृत्युपछि उनको स्मृतिलाई जीवन्त राख्न एमाले केन्द्रीय नेताहरुको अगुवाइमा स्थापना भएको मदन भण्डारी फाउण्डेसनमा कार्यालय प्रमुख भएर घिमिरेले जिम्मेवारी निर्वाह गरेका थिए।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

काठमाडौं– संघीय प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरे एक सय ६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार सांसद ईश्वरी न्यौपानेलाई ६७ मतले पराजित गर्दै सभामुखमा निर्वाचित भएका हुन्।

नवनिर्वाचित सभामुख घिमिरेले एक सय ६७ मत पाए भने पराजित ईश्वरी न्यौपानेले एक सय मत प्राप्त गरिन्। दुई सय ६८ सांसद सहभागि मतदानमा एक सांसदले मत हालेनन्। सभामुख घिमिरेलाई सात दलीय गठबन्धनका साथै केही स्वतन्त्र सांसदले मत दिएका थिए। घिमिरे नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा निर्वाचित भएका हुन्।

बुधबार एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्तावमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनको समर्थनमा घिमिरेले मनोनयन दर्ता गराएका थिए। 

कांग्रेस उम्मेदवार न्यौपानेको प्रस्तावकमा सांग्रेस सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका थिए। उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पनि समर्थन थियो।

सभामुखमा निर्वाचित घिमिरेको राजनीतिक यात्रा निकै लामो छ। उनी पाँच दशकदेखि निरन्तर राजनीतिमा सक्रिय छन्। उनलाई एमालेभित्र पदको लोभ नगरेर निरन्तर पार्टीमा क्रियाशील व्यक्तिको रुपमा लिइन्छ।

घिमिरेले २०४८ सालको निर्वाचनमा आफूले प्राप्त गरेको टिकट जनजाति नेतालाई दिई पार्टीको छवि उच्च बनाएका थिए। त्यसपछि उनीसँग जननेता मदन भण्डारीसमेत प्रभावित भएको चर्चा हुन्छ। मदन भण्डारी महासचिव हुदाँ तात्कालिन समयमा घिमिरेको त्यागको सम्मान गर्दै केन्द्रीय कमिटीमा जिम्मेवारी दिएका थिए। मदन भण्डारीको रहस्यमय हत्यापछि उनको स्मृतिलाई जीवन्त राख्न नेकपा एमालेका केन्द्रीय नेताहरुको अगुवाइमा स्थापना भएको मदन भण्डारी फाउण्डेसनमा कार्यालय प्रमुख भएर उनले जिम्मेवारी निर्वाह गरेका थिए। 

फाउण्डेसनमा कार्यालय प्रमुखको जिम्मेवारीलाई मदनको लिगेसीलाई विद्या भण्डारीले निरन्तरता दिएको रुपमा एमाले वृत्तभित्र चर्चा गरिन्छ। त्यससँगै उनको निकटता विद्यासँग पनि बढेको थियो। पछिल्लो समय उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रिय मान्दै आएका छन्।

घिमिरेको जन्म ताप्लेजुङको श्रीजंगा गाउँपालिका–३ मा पदमप्रसाद घिमिरे र भीमकुमारी घिमिरेबाट २०१३ साल जेठ १३ गते भएको हो। गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरेका घिमिरेले काठमाडौंको त्रिचन्द्र क्याम्पसमा स्नातक तहको अध्ययन गर्दागर्दै पार्टीको बुर्जुवा शिक्षा बहिष्कार गर्ने निर्णय मान्दै पूर्णकालीन कार्यकर्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टीको संगठन विस्तारमा लागेका थिए। 

२०३१ सालमा झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी राजनीतिमा होमिएका थिए। उनी २०३३ सालमा बुर्जुवा शिक्षा बहिष्कार गर्दै गाउँ गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटेका थिए। उनले त्यस क्रममा भूमिगत भएर तीन वर्ष काम गरे। 

२०३५ साल भदौमा पार्टी सदस्यता प्राप्त गरे।  २०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरू मिलेर नेकपा माले बनेपछि घिमिरेले तेह्रथुम र पाँचथर जिल्लामा संगठकको रुपमा पार्टीको विकास र विस्तारमा योगदान गर्ने काम गरे। नेकपा मालेका भूमिगत राष्ट्रिय भेला र कार्यक्रममा सहभागी घिमिरे २०४६ सालको भदौमा सिरहाको लाहानमा सम्पन्न चौथो महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भए। भूमिगत पार्टी जीवनमा विशिष्ट योगदान पुर्याएकै कारण घिमिरे नेकपा माले र एमालेको एकीकरणपछि २०४९ सालको पाँचौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भए।

मदन भण्डारीको रहस्यमय हत्यापछि उनको स्मृतिलाई जीवन्त राख्न नेकपा एमालेका केन्द्रीय नेताहरुको अगुवाईमा स्थापना भएको मदन भण्डारी फाउण्डेसनमा कार्यालय प्रमुख भएर उनले जिम्मेवारी निर्वाह गरेका थिए। 

इलामका बाम नेता सहिद रत्नकुमार बान्तवाको हत्या भयो। त्यसबेला इलाममा पञ्चायती दमन बढिरहेको थियो। सोही विषम परिस्थितिमा घिमिरेले इलाम जिल्लाको पार्टी कमाण्ड सम्हाले। घिमिरेको राजनीतिक क्रियाशीलताले पञ्चायती शासकहरूलाई तर्साइदिएको थियो। पछि २०३६ देखि उनलाई वारेन्ट जारी र घिमिरेले २०३६ देखि २०४६ सम्म १० वर्ष भन्दा बढी कठिन भूमिगत जीवन बिताए।

घिमिरेले २०५० सालदेखि मेची अञ्चल इन्चार्जको जिम्मेवारी पाए। २०४८ सालको निर्वाचनमा मदन भण्डारीले १ क्षेत्रबाट झलनाथ खनाल र अर्को क्षेत्रबाट घिमिरेलाई उम्मेदवार बनाउने प्रस्ताव गर्दा जातीय हिसाबले आफू उठ्नुभन्दा जनजाति नेतालाई उम्मेदवारी दिलाएर इलामका दुवै क्षेत्रबाट पार्टीलाई विजयी गराउन नेता घिमिरे सफल भए।

२०५८ सालमा माधव नेपालले पार्टीको नेतृत्व गरेपछि फरक धारका देवराज घिमिरेलाई भूगोलको जिम्मेवारीबाट हटाएर पार्टीका केन्द्रीय विभागमा इन्चार्जको जिम्मेवारी दिए। घिमिरेले इन्चार्जसिप गरेका स्वास्थ्य विभाग, इन्जिनियरिङ विभाग, युवासंघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्रध्यापक संघले उनको कार्यकालमा अब्बल जनसंगठनको रुपमा परिचालित भए। गुटगत राजनीतिको शिकार बनेका घिमिरले मदन भण्डारी फाउण्डेशनको कार्यालय प्रमुख भएर फाउण्डेशनलाई देशको कुना–काप्चासम्म विस्तार गर्न योगदान गरे। त्यसपछि २०५६ सालमा उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भए। घिमिरे आम निर्वाचन २०७९ मा झापा २ मा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

२०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनपछि नेकपा एमालेको अध्यक्षमा ओली निर्वाचित भएपछि उनलाई पार्टीभित्रको विभिन्न धारलाई संयोजन गर्ने जिम्मेवारी दिइयो। ओलीको चाहना अनुरुप उनले सचिवालय प्रमुख भएर २०७४ को अन्तिमसम्म सहयोग गरे। नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण भएपछि २०७५ असोज १ देखि नेकपा प्रदेश नम्बर १ को अध्यक्ष बनेका घिमिरे पूर्ववत अवस्थामा पार्टी फर्किए पनि नेकपा एमालेको अध्यक्षकै रुपमा क्रियाशील छन्।

पार्टीको १०औं राष्ट्रिय महाधिवेशनपछि उनी उपाध्यक्षको उम्मेदवारीमा छन्। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले घिमिरेलाई सभामुखमा प्रस्ताव गर्दै वर्तमान प्रतिनिधिसभामा दलहरूलाई मिलेर अघि बढ्न जनताको ‘म्यान्डेट’ रहेको बताएका छन्।

संविधानसभामा मिलेर संविधान जारी गरेका र मिलेर नै लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सफल पारेको भन्दै जनमतले दलहरूलाई अहिले पनि मिलेर अघि बढ्ने गरी सन्देश आएको बताए। उनले सबै मिलेर ल्याएको संविधान मिलेर नै अघि बढाउनुपर्ने भन्दै सबै दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता अहिले पनि रहेको बताए।

‘म नकारात्मक कुरा गर्दिनँ। कमीकमजोरीका बाबजुद हामी लक्ष्यमा पुग्छौं। हिजोको अनुभवलाई आधार बनाएर आज पनि राष्ट्रिय मुद्दाहरूमा सहकार्य गर्दै अघि बढ्न सक्षम हुनेछौं भन्नेमा म विश्वस्त छु,’ नेम्वाङले भने।

पूर्वसभामुख नेम्वाङले नेकपा (एमाले)ले गरेको सबै गतिविधिमा सहभागी भएका देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न आह्वान गरे। ‘निरंकुशताविरुद्धको आन्दोलनदेखि पूर्वका पहाडी जिल्लाका जनजाति आन्दोलनसँग जुध्ने र वार्ता गर्ने भूमिकाबाट आउनुभएको व्यक्ति देवराज घिमिरे हो,’ नेम्वाङले भने। उनले एमालेले लिएका प्रत्येक काममा घिमिरेको संलग्नता रहेको स्मरण गरे।

‘०५६ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएर क्रियाशील हुनुभएको हो। यसपटक झापा–२ का जनताको समर्थन लिएर हामीसमक्ष यो सदनमा आइपुग्नुभएको छ। यो प्रतिनिधिसभामा रहेका सम्पूर्ण राजनीतिक दलहरूको विश्वासलाई समेटेर यो संसद्को निष्पक्ष रेफ्रिको भूमिका खेल्नुहुनेछ भनेर म विश्वस्त छु। त्यसैले उहाँलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्न चाहन्छु। सिंगो प्रतिनिधिसभालाई सहयोग र समर्थन गर्न आग्रह गर्दछु,’ उनले भने।

बुधबार मनोनयन दर्तापछि सञ्चारकर्मीको जिज्ञासामा सभामुखका उम्मेदवार घिमिरेले आफू निर्वाचित भएको खण्डमा विगतको शिक्षा र राजनीतिक दलसँगको परामर्श एवं सहमतिका आधारमा संसद्का बैठक तथा अरु प्रक्रियालाई व्यवस्थित गर्ने बताएका थिए। 'म त्यो जिम्मेवारीमा पुग्ने निश्चत नै छ, विगतबाट शिक्षा लिँदै आरोप, प्रत्यारोप, पूर्वग्रहबाट टाढा रही यथार्थ ढङ्गले ठिक बाटोबाट सदनलाई अघि लग्ने विचार छ, सभामुखले खेल्ने भूमिकामा कुनै कमी हुन नदिई काम गर्नेछु,' उनले भने। 


प्रकाशित: Jan 19, 2023| 15:17 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...