काठमाडौं– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले २६ पुसपछि कांग्रेस प्रतिपक्षी दल नरहेको दाबी गर्दै प्रतिनिधिसभामा आफूलाई प्रमुख विपक्षी दल तोक्न माग गरेको छ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेमकिपा सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपा विपक्षी दल भएको बताए। प्रतिनिधिसभामा नेमकिपाबाट १ जना मात्रै सांसद छन्।
संसद् बैठक स्थगित गरेरै भए पनि विपक्षी दल नेता तोक्न माग गरेका छन्। नेमकिपा र राष्ट्रिय जनमोर्चाले गत २६ पुसमा सरकारलाई विश्वासको मत दिएका थिएनन्।
सुवालले भने, ‘सरकारलाई विश्वासको मत नदिएको सबैभन्दा ठूलो दल नेमकिपा हो। नेमकिपा नै विपक्षी दल हो। सरकारलाई समर्थन गर्ने दल प्रतिपक्षी हुन सक्दैन।’ प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले भने अहिलेसम्म आफू विपक्षी दल भएको दाबी गर्दै आएको छ।