काठमाडौं– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरेका छन्।
बिहीबार बिहान भएको भेटमा नेता पौडेलले कांग्रेसले २६ पुसमा इमानपूर्वक प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले सोहीअनुसार सभामुखमा सहयोग गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको बुझिएको छ। कांग्रेसले संघीय सभामुखका लागि ईश्वरी न्यौपानेलाई अगाडि सारेको छ। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे मैदानमा छन्।
नेता पौडेललाई पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्ड मनाउन बालुवाटार पठाएको बताइन्छ। यद्यपि प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच आधा घन्टा संवाद भएको रामचन्द्रका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए। तनहुँका ठूला विकास आयोजनाबारे कुरा गर्न पौडेल बालुवाटार पुगेको र राजनीतिबारे कुरै नभएको अधिकारीले दाबी गरे।