काठमाडौं- नेपाली कांग्रेसले पोखरामा भएको हवाईजहाज दुर्घटनाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गराएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रमेश लेखकले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे संसद्मा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले विमान दुर्घटनाबारे संसद्लाई जानकारी गराउनका लागि सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने माग गरे।
विमान दुर्घटनाबारे सरकारले जानकारी गराउने बिहीबारको बैठकको कार्यसूचीमा समावेश हुने आफूले अपेक्षा गरेको भए पनि त्यस्तो नभएको भन्दै आपत्ति जनाएका लेखकले तत्काल कार्यसूचीमा समावेश गरेर विमान दुर्घटना के कारणले भएको हो, घाइतेहरुको उद्धारलगायतका विषयमा जानकारी गराउन सरकारको नाममा रुलिङ गर्न सभामुखसँग आग्रह गरे।
जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना, त्यसपछिको उद्धार र घटनाक्रमबारे प्रतिनिधिसभालाई जानकारी दिए।
मन्त्री किरातीले घटना भएको दिन माघ १ गते देखि ४ गतेसम्म सरकारले गरेका कामहरुको जानकारी गराएका थिए। उनले सरकारले उक्त घटनाबारे अनुसन्धान गर्न जाँचबुझ समिति बनाएको जानकारी दिए। यस्तै उनले अझै एक बालकको शव फेला नपरेकोले खोजी कार्य तीव्र पारिएको बताए। उनले भने, 'सरकारले घटनाबारे सूचना संकलन, उद्धार र बेपत्ताको खोजी कार्य तीव्र पारिरहेको छ।'