काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मन्त्रीहरुलाई आफ्नो कार्ययोजना बनाउन भनेका छन्। मन्त्रिपरिषद् विस्तारपछि बुधबार पहिलोपटक बसेको बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
बैठकले मन्त्रीहरुलाई आ-आफ्नो मन्त्रालयको कार्ययोजना बनाउन सात दिनको समय दिने निर्णय गरेको छ।
सरकारको न्यूनतम साझा कार्यक्रममा आधारित भएर सबै मन्त्रालयहरुलाई कार्ययोजना निर्माणका लागि सात दिनको समय दिने निर्णय भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। सबै मन्त्रालयहरुले कार्ययोजना बनाउने र मन्त्रिपरिषद्मा पेस गरेपछि त्यसकै आधारमा सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएका विषयको कार्यान्वयन अगाडि बढाइने पौडेलले बताए।
मन्त्रिपरिषद्को बुधबारको बैठकले सरकारका दुई सचिवको जिम्मेवारी पनि हेरफेर गरेको छ। उर्जा सचिव केशव शर्मालाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ भने भौतिकका सचिव गोपाल सिग्देललाई उर्जा मन्त्रालयमा लगिएको छ।