मंगलबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सात दलभित्रैका 'विपक्षी'को टेको समाएर गठबन्धन निर्माण कांग्रेसको रणनीति

सात दलभित्रैका 'विपक्षी'को टेको समाएर गठबन्धन निर्माण कांग्रेसको रणनीति

सरकारभित्रका 'विपक्षी' लाई आफूतिर तानेर गठबन्धन निर्माण गर्न सके सभामुख, राष्ट्रपतिसमेत कांग्रेसकै भागमा पर्न सक्ने सभापति देउवाको ठम्याइ छ।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

काठमाडौं- संघीय सदनमा सबैभन्दा ठूलो दल रहेर पनि सत्ता विमुख हुन पुगेको प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखको निर्वाचनका लागि सात दलीय समर्थन नपाउने भएपछि सरकारभित्रै रहेका ‘विपक्षी’ दलहरूसँग गठबन्धन निर्माणको पहल थालेको छ। कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नभएका र मन्त्रालय बाँडफाँटमा चित्त नबुझाएका सत्तारुढ दलभित्रका ‘विपक्षी’हरुसँग हिमचिम बढाएको हो।

बुधबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव धुम्बाराही निवास पुगेका थिए। धुम्बाराही निवासमा भएको दुई नेताबीचको छलफलमा यादव र नेता नेपाल सरकारसँग नाखुस रहेको संकेत सभापति देउवाले पाएको बताइन्छ। सरकारभित्रका ‘विपक्षी’ लाई आफूतिर तानेर गठबन्धन निर्माण गर्न सके सभामुख, राष्ट्रपतिसमेत कांग्रेसकै भागमा पर्न सक्ने सभापति देउवाको ठम्याइ छ।

केही दिनअघि धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुख र राष्ट्रपति निर्वाचनका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने र निर्णयमा पुगिने विज्ञप्ति निकालेको थियो। तर सभामुखमा सत्तारुढ दलबाट सहयोग हुने सम्भावना कमजोर बनेपछि कांग्रेसले ‘विपक्ष’मा रहेका दलसँग छलफल गरेर उम्मेदवारी दिन सिंहदबारमा बैठकै बोलाएको छ। बैठक बस्नुअघि कांग्रेसले ईश्वरी न्यौपानेलाई संघीय सभामुखको उम्मेदवार बनाउने घोषणा गरेको छ।

मंगलबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक।
आजै सभामुखको निर्वाचनका उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । देउवाले मंगलबार बिहान आफ्नै निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका थिए। पार्टी प्रवक्ता प्रकाशशरण महतले सभामुखको निर्वाचनमा आफैं उम्मेदवारी दिने वा कसैलार्ई समर्थन गर्ने भन्नेबारे छलफल भइरहेको बताएका थिए। 

उनले भनेका थिए, ‘सभामुखमा हामी आफैं उम्मेदवारी दिने वा अन्य दललाई सहयोग गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन। बैठकमा संसद्‍मा उपस्थित सबै दलसँग साझा सहमति र सहकार्यका लागि भएका प्रयासबारे नेताहरूबाट जानकारी प्राप्त भयो। अझै समय छ, मनोनयनको समयसम्म निर्णय लिन्छौं।’

मंगलबार पत्रकारलाई भनेजस्तो कांग्रेसले सत्तारुढभित्रकै ‘विपक्षी’दलहरुसँग सहमति गरेरै सभामुखका लागि उम्मेदवारी दिएको हुन सक्छ। सभापति निवास धुम्बाराहीमाा प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका नेकएस, जसपा, लोसपा, नागरिक उन्मुक्तिकासहितका दलसँग छलफल गरेर सभामुख र उपसभामुख पदमा तालमेल गरेर उम्मेदवारी दिनेबारे छलफल भएको थियो। बैठकमा कांग्रेसले सभामुख लिने र अन्य दललाई उपसभामुख दिने प्रसंग देउवाले कोट्याएका थिए। 

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा आफूले उठाउने उम्मेदवारलाई माओवादीले साथ दिने आश गरेको थियो। तर बुधबारको सर्वदलीय बालुवाटार बैठकमा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले उब्जाएको पद बाँडफाँटको सहमतिलाई सात दलीय सत्ता निर्माणकर्ता एमाले अध्यक्ष ओलीले अस्वीकार गरिदिएका छन्। बालुवाटारमा भएको कांग्रेससहितको आठ दलीय बैठक सहमतिबिनै टुंगिएको छ। कांग्रेसले जसपा, नेकपा एस, नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सहमत गराई सभामुखको निर्वाचन आफ्नो पक्षमा पार्ने रणनीति लिएको देखिन्छ।

प्रकाशित: Jan 18, 2023| 15:53 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...