काठमाडौं- नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन्। बुधबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन्।
घिमिरेको प्रस्तावकमा एमाले सांसद सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन छन्।
एमालेले आज बिहानमात्रै एमालेले घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। सत्ता गठबन्धनका दलहरूबीच सभामुख एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ।
घिमिरे २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। अहिले भने उनी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। झापाको अर्जुनधारा-६ का घिमिरेले स्वतन्त्र उम्मेदवार नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गरेका थिए। घिमिरेले २८ हजार ७ सय १६ मत प्राप्त गर्दा नेपालले २६ हजार ४५५ मत पाएका थिए।
ताप्लेजुङको सिकैचा-३ मा जन्मिएका घिमिरे २०३१ को झापा विद्रोहपछि राजनीतिमा लागेका हुन्। एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज घिमिरे त्यसअघि २०७५ मा तत्कालीन नेकपाको प्रदेश १ को अध्यक्ष थिए।