काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ सर्वदलीय बैठक बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बैठक बसेको हो। बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै दलका शीर्ष नेताहरु सहभागी छन्।
बैठकबाट एमाले अध्यक्ष केपी ओली भने बीचमै बाहिरिएका छन्। उनी सुरुमै आफ्नो कुरा राखेर निस्किएका हुन्। उनी बाहिरिए पनि अन्य नेताहरुबीच भने छलफल चलिरहेको छ।
प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन्। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक सहभागी छन्। त्यसैगरी एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी छन्।
बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन्। नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि बैठकमा छन्।