काठमाडौं– संसद् सचिवालयले प्रतिनिधिसभाको नयाँ सभामुखका लागि मंगलबार चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। उक्त कार्यतालिकाअनुसार बुधबार नयाँ संसद्ले नयाँ सभामुख पाउनेछ।
कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्। एकभन्दा बढीको उम्मेदवारी परे सभामुख चयन गर्न बिहीबार मतदान हुने सचिवालयले जनाएको छ।
निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची सोही दिन ४.१५ बजे प्रकाशित गरिनेछ।
प्रतिनिधिसभाको ५ माघ ११ बजेको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ। त्यस लगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ।
प्रतिनिधिसभाको गत २६ पुसको बैठकले ५ माघमा सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो।
सात दलीय गठबन्धनको बालकोट सहमतिअनुसार सभामुखमा एमालेको हकदाबीमा पहिले नै सहीछाप लागिसकेको छ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ। सभामुख र उपसभामुखमध्ये एक जना महिला र फरक दलको हुनुपर्नेछ।
सात दलीय गठबन्धनको बालकोट सहमतिअनुसार सभामुखमा एमालेको हकदाबीमा पहिले नै सहीछाप लागिसकेको छ। सात दल एकै ठाउँ हुँदा गठबन्धनका उम्मेदवारले सहजै जित्न सक्छन्।
एमालेबाट झापाबाट निर्वाचित सांसद देवराज घिमिरेलाई अध्यक्ष ओलीले सभामुख उम्मेदवार बनाउने सम्भावना रहेको गाइँगुइँ चल्न थालेको छ। यद्यपि हालसम्म कसलाई सभामुखमा उठाउने भन्नेबारे कुनै निर्णय लिएको छैन। एमालेभित्रै सभामुख बन्ने दौडमा सांसदत्रय पृथ्वीसुब्बा गुरुङ, विद्या भट्टराई, छविलाल विश्वकर्मा रहेका छन्।
घिमिरे झापा २ बाट निर्वाचित हुन्। एक पटक राष्ट्रिय सभा सदस्य भएका घिमिरे पहिलो पटक प्रतिनिधिसभामा आएका हुन्। २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको सदनमा ठूलो दल संख्या रहेको नेपाली कांग्रेसले सहमतिअनुसार आफूले सभामुख पाउनुपर्ने बताउँदै आएको छ।
मंगलबार मात्रै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विश्वासको मतका लागि २५ पुसमा पार्टी सभापति देउवा निवास धुम्बाराही पुगेका प्रधानमन्त्री प्रचण्डसँग भित्री सहमति भएको दाबी गरेका छन्। सभामुख र राष्ट्रपति कांग्रेसलाई दिन प्रचण्डले ग्रिन सिग्नल देखाएको उनको भनाइ छ। यदि महतले भनेझैं भए सभामुख छनोट प्रक्रिया राजनीतिक रुपमा जटिल हुनेछ।