काठमाडौं- प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंग्याएको छ। बालुवाटारमा आइतबार राति करिब पाँच घण्टा बसेको बैठकले दलहरुले पाउने मन्त्रालयको टुंगो लागाएको हो।
एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३/३ र जनमत पार्टीले एउटा मन्त्रालय लिने सहमति भएको छ। जसपालाई दिने मन्त्रालयबारे भने टुंगो लागेको छैन। जसपाले तीन मन्त्रालय दाबी गरेपछि सहमति हुन नसकेको हो। नागरिक उन्मुक्ति पार्टीले भने संस्थापक नेता रेशम चौधरीको रिहा हुने व्यवस्था नभएसम्म सरकारमा नजाने अडान लिएको छ।
धेरैजसो मन्त्रालयको टुंगो लागे पनि केही भने मंगलबार बिहान छलफल गरेर टुंगो लगाइने भएको छ। माओवादीले स्वास्थ्य, सञ्चार तथा सूचना प्रविधि र भूमिसुधार मन्त्रालय पाउने अनौपचारिक सहमति भएको छ। एमालेले रक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत मन्त्रालय लिने छ। एमालेले दुई राज्यमन्त्रीसहित ८ मन्त्रालय लिने सहमति भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृह पाइसकेको छ भने शिक्षा र श्रम मन्त्रालय पनि पाउने भएको छ। उपसभामुख पनि स्वतन्त्र पार्टीलाई दिने सहमति भएको केन्द्रीय सदस्य तथा उपप्रधानमन्त्री रवि लामिछानेको सचिवालयक संयोजक दीपक बोहराले जानकारी दिएका छा्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिँचाइ र अरु दुई मन्त्रालय पाउने भएको छ। पार्टीको नेतृत्व गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा मन्त्रीको रुपमा सरकारमा जानेछन्। राप्रपाले सहरी विकास र खेलकुद मन्त्रालय दाबी गरेको छ। जनमतले भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको छ।
सत्ता गठबन्धनको बैठक मंगलबार बिहान पनि बस्ने र भागवण्डाको अन्तिम टुंगो लगाउने भएको छ। मंगलबार नै दिउँसो १ बजे नयाँ मन्त्रीहरुले शपथ लिने तयारी छ। त्यसपछि अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्नेछ।