काठमाडौं– सात दलीय गठबन्धनको टेकोमार्फत १० पुसमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा सदनमा विश्वासको मत लिइसकेका छन्। मंगलबार बस्ने भनिएको बैठकमा २६ पुसमा प्रचण्डलाई विश्वासको मत दिएर सदनलाई प्रतिपक्षीविहीन बनाएको कांग्रेस र नेकपा एसको सहभागिताबारे भने प्रधानमन्त्री प्रचण्डले केही खुलाएनन्।
नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक संसद्मा प्रतिनिधित्व गर्ने अन्य दल तथा स्वतन्त्र सांसदले २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। सोमबार सत्ता सहयात्री एमाले अध्यक्ष केपी ओलीसँग बालकोट निवासमा भएको भलाकुसारीपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरू मंगलबार बैठकमा बस्न लागेको बताए। तर कांग्रेस, नेकपा एसको सहभागिताबारे केही भनेनन्।
उनले यत्ति मात्रै भने, ‘विश्वासको मत दिने सबै पार्टीका नेताहरूको बैठक भोलि बस्दै छ।’ मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ। उनले आजै सरकारले पूर्णता पाउने ठोकुवासमेत गरे।