काठमाडौं– नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। राजदूत छन सोङ र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।
भेटमा राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाइ, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताएका थिए।
प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वका लागि राजदूतमार्फत धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। प्रचण्डले रास्ट्रपति सी जिन पिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
भेटमा नेपाल–चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउनेबारे संवाद भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। राजदूत छनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए।