काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र तरुण दल अध्यक्ष विद्वान गुरुङसँग दुई भ्रातृ संस्थालाई पूर्णता दिन छलफल गरेका छन्।
शुक्रबार धुम्बाराही निवासमा पार्टी सभापति देउवाले स्ववियु चुनावको मिति तोकिएकाले नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिन लागिएको बताएका हुन्। त्रिविले ५ चैतमा स्ववियु निर्वाचनको क्यालेन्डर सार्वजनिक गरेको छ।
तरुण दल र नेविसंघमा सभापति देउवाले यसअघि अध्यक्ष मात्रै तोकेका थिए। भ्रातृ संस्थालाई पूर्णता दिन कांग्रेसले सभापति देउवालाई जिम्मेवारी दिएको लामो समय बिते पनि हालसम्म प्रक्रिया अगाडि बढेको छैन।
‘अब एक साताभित्र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ। सभापति देउवा यसमा सकारात्मक हुनुहुन्छ,’ छलफलमा सहभागी तरुण दल अध्यक्ष गुरुङले भने, ‘नेविसंघमा १०० देखि १५० सम्म सदस्य राखेर केन्द्रीय समिति बनाउने तयारी छ। तरुण दलमा पनि त्यस्तै हुन्छ।’
कांग्रेसले अधिकांश भ्रातृ संस्थाको समयमै महाधिवेशन गर्न सकेको छैन। त्यसैले केही भ्रातृ संस्थामा अध्यक्ष मात्रै तोकिएको छ। निर्वाचन परिणाम आएको तीन महिनाभित्र नेविसंघ र तरुण दल महाधिवेशन गर्ने भनिए पनि स्ववियु चुनावलगायत कारण महाधिवेशन पुनः अनिश्चित हुने देखिएको छ।