काठमडौं- राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन्।
दल दर्ताका लागि निर्वाचन आयोगले निवेदन दिन आजसम्मको समयसीमा दिएको छ। अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ। लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आउँदो माघ २५ गते उपचुनाव हुँदैछ।
लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो। आयोगले गएको २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो। निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उपचुनावका लागि आयोगमा निवेदन दिन सक्नेछन्।