काठमाडौं– संघीय राजधानी काठमाडौंमा राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायणको मूर्तिमा पुष्पगुच्छा अर्पण गरिन्।
बुधबार राष्ट्रपतिले नेपालको शासन/प्रशासन सञ्चालन हुने मुख्य कार्यालय सिंहदरबार पुगेर पृथ्वीनारायणलाई सम्झिइरहँदा सरकार प्रमुख पुष्पकमल दाहाल प्रचण्ड भने दलबलसहित उनको जन्मथलो गोरखा लागेका छन्।
गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक पृथ्वीनारायणलाई सम्झिन गोरखा हान्निएका हुन्।
प्रधानमन्त्री प्रचण्डले गोरखा उद्योग वाणिज्य संघले पृथ्वी जयन्ती अवसरमा आयोजना गरेको ११औं गोरखा महोत्सव उद्घाटन गर्नेछन्। प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद राजेन्द्र बजगाईं पनि गोरखा गएका छन्। प्रधानमन्त्री प्रचण्ड गोरखामा पृथ्वीजयन्ती अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रममा सरिक हुने बताइएको छ।