काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रमाणपत्र दिएका हुन्।
प्रदेश प्रमुख मिश्रसमक्ष ६३ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उनले बुधबार दिउँसो मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। यादवलाई एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थन छ।
स्वतन्त्र प्रदेशसभा सदस्यद्वय सुरिता साह र अनिरुद्द सिंहले समेत उनलाई समर्थन गरेको जसपा सांसद रामाशीष यादवले बताए। १०७ सांसदको मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ जना सांसदको समर्थन चाहिन्छ।
प्रदेशसभामा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यसहित ६३ जना प्रदेशसभा सदस्य छन्। कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र तीन जना प्रदेशसभा सदस्यले भने यादवलाई समर्थन गरेका छैनन्। मुख्यमन्त्रीको सपथ २९ पुसमा हुनेछ।