सोमबार, साउन १३, २०८२

तीन प्रदेशमा आज मुख्यमन्त्री नियुक्त हुँदै, मधेसमा भोलिसम्मको समय

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा भने सरकार गठन भइसकेको छ।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री चयन हुँदैछन्। प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद आज सकिने भएकोले यी तीनवटै प्रदेशले आजै मुख्यमन्त्री पाउने निश्चित छ।

केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन्। केन्द्रमा भएको भागवण्डालाई लिएर कर्णाली र लुम्बिनीमा भने केही असन्तुष्टि छ।

केन्द्रको सहमतिअनुसार लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बन्नेछ। एमालेबा संसदीय दलका नेता लिला गिरीले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन्।

लुम्बिनीमा आज अपराह्न ४ बजेसम्मको समय दिइएको छ दाबी पेस गर्न। यो प्रदेशमा ८७ जना सांसद छन्। सरकार गठनका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ।

माओवादी केन्द्रको भागमा परेको कर्णालीमा पनि आजै मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने अन्तिम समय छ। कर्णालीमा बेलुकी ५ बजेसम्ममा माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नेछन्। ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक/एक जना छन्।

कर्णालीमा एमालेले मुख्मन्त्री आलोपालो हुनुपर्ने माग गरेको छ। एमाले संसदीय दलका नेता यामलाल कँडेल पक्षका सांसदहरू केन्द्रमा भएको भागवण्डाबाट असन्तुष्ट छन्।

एमाले र माओवादीले आलोपालो सरकार बनाउने सहमति भएको सुदूरपश्चिम प्रदेशले पनि आजै मुख्यमन्त्री पाउनेछ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ। यहाँ ठूलो दल नेपाली कंग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन्।

सहमतिअनुसार पहिलो कार्यकाल एमालेले नेतृत्व गर्नेछ। एमालेबाट संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीको दाबी पेस गर्दैछन्। बाँकी कार्यकाल माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्नेछन्।

मधेस प्रदेसमा भने सरकार गठनका लागि भोलि बिहीबारसम्मको समय छ। यहाँ सरकार गठनको लागि सत्ता गठबन्धन दलले आज प्रदेश प्रमुखसमक्ष दाबी गर्ने भएका छन्। जनता समाजवादी पार्टी(जसपा)ले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सत्ता साझेदार दलका बढीभन्दा बढी सांसदको समर्थन लिएर प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गर्ने तयारी भइरहेको छ।

प्रदेश प्रमुख मिश्रले पुस २८ गते ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार निर्माण गर्न आह्वान गरेका थिए। केन्द्रमा सत्ता गठबन्धन दलहरू नेकपा एमाले, माओवादी केन्द्र, जसपा, जनमत पार्टी र राप्रपाबीच भएको सहमतिअनुसार जसपाले मधेस प्रदेशको नेतृत्व लिने सहमति भएको छ।

सोमबार जसपा संसदीय दलको नेता चयन भएका सरोजकुमार यादवले भोलिपल्ट नै सत्ता गठबन्धन दलका नेताहरूसँग सरकार गठनको विषयमा छलफल गरेका थिए।

१०७ जना सदस्य रहेको मधेस प्रदेशमा सरकार गठनका लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ। अहिले सत्ता गठबन्धनसँग रहेका नेकपा एमाले २३, जसपा १६, जनमत १३, माओवादी ८ र राप्रपा १ गरी ६१ सांसद छन्।

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा भने सरकार गठन भइसकेको छ। प्रदेश १ मा एमालेका हिक्मत कार्की, बागमतीमा माओवादीका शालिकराम जम्मकट्टेल र गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भइसकेका छन्।

प्रकाशित: Jan 11, 2023| 08:50 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...