पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुशी नरहेको बताएका छन्। पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै नेपालका अन्तिम राजा ज्ञानेन्द्रले यसको पुनरावलोकन आवश्यक रहेको तर्क गरेका हुन्।
सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि राष्ट्रमा सुख हुन नसक्ने उनले बताएका छन्। उनले वर्तमान अवस्थामा हामी धेरै नै पराइमुखी, परनिर्भर र परावलम्बी हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
‘राष्ट्रको माटो, प्रकृति र आफ्नो प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनुपर्छ। हामी चाहन्छौं- देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न-प्रयत्न गतिविधि आफ्नै शैली र ढाँचा तथा प्रक्रियाबाट अघि बढोस्,’शाहले भनेका छन्।
उनले शाहवंशीय राजसंस्था आफ्नो जिम्मवारीबाट नचुक्नेसमेत प्रष्ट पारेका छन्। ‘सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन। विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक र आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ। त्यसैले राज्य पद्धति र प्रणाली सहि प्रकारले पुनरावलोकन हुन आवश्यक देखिन्छ,’पूर्वराजाको सन्देशमा भनिएको छ।
ज्ञानेन्द्रले राजनीतिक उतारचढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता भएको भन्दै हरेक जनताका आआफ्नो राष्ट्रिय अवधारणा, अनुभुति र चासो चिन्ताका विषय सुन्न तथा बुझ्न आफू तत्पर रहेको समेत बताएका छन्।