काठमाडौं- नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि ह्वीप जारी गरेको छ। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन्।
यसअघि कांग्रेस संसदीय दलको आज बिहान बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो।
संसदमा बोल्दै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्। उनले नेपालका दलहरूले गठबन्धनको राजनीतिमा अभ्यस्त हुनु पर्ने पनि बताए।
यसअघि कांग्रेस सांसदहरू गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले प्रचण्डलाई विश्वासको मत दिन दिन नहुने भन्दै असहमति जनाएका थिए।