काठमाडौं– सत्तारुढ एमाले अध्यक्ष केपी ओलीले आफूले दुई–दुई पटक गरेको संसद् विघटन वैधानिक भएको तर्क गरेपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कसैको लहडमा जनप्रतिनिधि थलोलाई अवधि नपुगी विघटन गर्न नपाइने संवैधानिक व्यवस्थाको उदाहरण देखाइदिएका छन्।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेपालले ओलीलाई आफूखुसी संविधानको व्याख्या नगर्न सचेत गराएका हुन्।
ओलीले सोमबार र मंगलबार संसदमा बोल्दै प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन नभएको बताएका थिए। उनले बेलायत, इजरायल, जापानलगायत संसदीय व्यवस्था भएका मुलुकमा पनि संसद विघटन हुने गरेको तर्क गरेका थिए।
ओली गर्जनलाई काउन्टर दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले गम्भीर ध्यानाकर्षण भएको बताएका थिए। देउवाको जवाफमाथि उत्तर दिँदै ओलीले २०५१ अनि २०५८ मा पनि कांग्रेसले संसद् विघटन गरेको र त्यसको गुरु देउवा नै भएको आरोप लगाएका थिए।
नेता नेपालले भने ओलीले उदाहरण दिएजस्तै नेपालको संविधान बेलायत, जापानको जस्तो नभएको दाबी गरे। उनले भने, ‘अहिलेको संविधान राणाकाल वा २०४८ को जस्तो होइन। हामी आफैंले लेखेको संविधानमा संसद्ले सरकार बनाउन सक्ने अवस्थामा कसैको लहडमा प्रतिनिधिसभा विघटन गर्न नपाइने व्यवस्था छ,’ नेपालले भने, ‘सर्वोच्च अदालतले पनि त्यसलाई व्याख्या गरिसकेको छ। अतः प्रतिनिधिसभा विघटन गर्न पाइँदैन।’