सोमबार, साउन १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पृथ्वीनारायणलाई पुज्दै माओवादीः उपेन्द्रले ठाने अपमान, लिङ्देनले गर्दै चियापान

पृथ्वीनारायणलाई पुज्दै माओवादीः उपेन्द्रले ठाने अपमान, लिङ्देनले गर्दै चियापान

समाज र देश रुपान्तरणको नारा उछालेर बन्दुक बोकेको माओवादीले जसलाई सामन्तको संकेत गर्थ्यो, उसैलाई पछिल्लो समय पुज्न थालेको देखिँदै छ। यसको पछिल्लो उदाहरण राजा, महाराजाहरूलाई राष्ट्रवादीको डोकोभित्र राख्नु, मठमन्दिर धाउनु र बोलीपिच्छे लोकतन्त्रको महिमा गाउनु माओवादी नेताहरूको दिनचर्या बन्दै गएको छ।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं– ‘सत्तासीन बडे दादाले जसरी नि सत्तामा टिक्न पश्चगामी तत्त्वलाई काँधा बोकेर यसपाला पुस २७ गते बिदा दिए। आगे साल पुस १ गते बिदा देलान्। झन् आगे साल श्रीमान् गम्भीर जप्लान्। अनि झन् आगे साल? यो लोकतान्त्रिक मान्यतायुक्त गठबन्धन किमार्थ होइन। यो हो आफैं पश्चगामी हाम् झ्वाम् हठबन्धन।’

माथि उल्लिखित ट्वीट वामपन्थतर्फ रुझान राख्ने विशेषगरी नेकपा माओवादी केन्द्र निकट मानिने साहित्यकार तथा लेखक खगेन्द्र संग्रौलाको हो। २५ पुसमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले २७ पुसमा पर्ने राष्ट्रिय एकता दिवस अर्थात् नेपाल एकीकरणका स्तम्भ पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि संग्रौलाले नेकपा माओवादीप्रति रोष प्रकट गरेका हुन्।

गणतन्त्र (२०६३) अघि राष्ट्रिय एकता दिवस अर्थात् नेपाल एकीकरणका धरोहर शाहवंशीय राजा पृथ्वीनारायणको जन्मजयन्तीमा सार्वजनिक बिदा दिने गरिन्थ्यो। तत्कालीन समय बुलेटबाट ब्यालेटमा आउँदै गरेको र हाल सरकारको नेतृत्वमा रहेको नेकपा माओवादीले कांग्रेससहित राजा–महाराजाहरूलाई सामन्ती, दलाल पुँजीपतिको बिल्ला भिराउँथ्यो, जुन अहिले पनि चुनावका बेला सुन्न सकिन्छ। २०६३ मा तत्कालीन माओवादीहरू शान्ति प्रक्रियामा आएर सरकारमै समावेश भए। कांग्रेस, एमालेहरूले सरकारको नेतृत्व गरे पनि मन्त्रिपरिषद् बैठकमा माओवादीकै मन्त्रीको विरोधका कारण पृथ्वीजयन्तीको बिदा कटौती गरिएको थियो। यो कुरा स्वयं कांग्रेस, एमाले नेताहरूले पछिल्लो समय प्रस्टीकरण दिँदै आएका छन्। 

राजनीतिमा स्थायी शत्रु कोही हुँदैन भन्ने लोकोक्तिलाई पछिल्लो समय नेकपा माओवादी केन्द्र, सरकारको नेतृत्वमा पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र यस पार्टीका नेताहरूले अक्षरशः पछ्याउँदै गएका छन्। १० पुसमा शीतलनिवासको प्रांगणमा प्रधानमन्त्री प्रचण्ड, भौतिक योजना तथा निर्माणमन्त्री नारायणकाजी श्रेष्ठहरूले सामन्ती, दलाल, निरंकुश राजा, महाराजाहरूले घोषणा गरेको र कुनै बेला नेपालको राष्ट्रिय पोसाक रहेको दौरासुरुवालमा ठाँटिएर सपथ खाइसकेका छन्। यसलाई माओवादीको राजनीतिक विचलन वा उक्त पार्टीका नेताहरूले भन्ने गरेको राजाहरूको राष्ट्रवादी अडानको चिह्नका रुपमा पनि अर्थ्याउन सकिन्छ।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड।
दौरा–सुरुवाललाई कुनै जात, शासकविशेषको पगरी गुथाएर आयातीत माओवादी व्यवस्थाको गुणगान गाउने नेकपा माओवादी र यसका नेताहरूको बोली पछिल्लो समय लोकतन्त्रप्रति समर्पित हुन थालेको छ। दुई तिहाइ बहुमतको सरकार विघटन गरेर ओलीले दुई–दुई पटक चुनावको घोषणा गरेसँगै नेकपा माओवादी कांग्रेससँग जोडिएर गठबन्धनमा सामेल भएको थियो। ४ मंसिरअघिसम्म माओवादी नेताहरूले ओलीको प्रतिगमनलाई परास्त गर्न कांग्रेससँग गठबन्धनमा गएको बताउँथे। ४ मंसिरपछि सिंगो सरकारको नेतृत्व गर्न नेकपा माओवादी कांग्रेसलाई छाडेर एमालेतिर लागेको छ। एमालेतिर गएसँगै ७ दलीय गठबन्धन बनाएर प्रचण्डले प्रधानमन्त्रीको पद पाइसकेका छन्। 

समाज र देश रुपान्तरणको नारा उछालेर बन्दुक बोकेको माओवादीले जसलाई सामन्तको संकेत गथ्र्यो, उसैलाई पछिल्लो समय पुज्न थालेको देखिँदै छ। राजा, महाराजाहरू, मठमन्दिर र लोकतन्त्रप्रति माओवादी नेताहरूको लगाव अकाट्य देखिँदो छ। १० पुसमा सरकारको नेतृत्वमा पुगेका अध्यक्ष प्रचण्डलाई पछिल्लो समय दौरा–सुरुवाल प्यारो लाग्न थालेको छ। पञ्चायती शासनलाई दीर्घजीवी बनाएकाहरूले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचण्डलाई सहयोग गरेको छ। सरकारमा पनि जाँदै छ, सायद।

बागमती प्रदेशमा मन्त्री पाइसक्यो। सदनमा बहुमतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई पृथ्वीजयन्तीका दिन बिदा दिन गरेको आग्रह/माग पूरा भएको छ। गृह मन्त्रालयले २५ पुसमै विज्ञप्ति निकालेर २७ पुसमा पर्ने पृथ्वी जयन्ती अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको घोषणा गरेको छ। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलबाट विज्ञप्ति निकाल्न लगाएर पृथ्वीजयन्तीका दिन सगर्व सार्वजनिक बिदा घोषणा गरिएको छ। मन्त्रालयले २७ पुसमा देशभर र विदेशस्थित दूतावास तथा कूटनीतिक नियोगमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

गठबन्धनभित्रै विरोध
सात दलीय गठबन्धनमा आबद्ध उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णयलाई लिएर विरोध जनाएको छ। अध्यक्ष उपेन्द्र यादवले यो निर्णय जनआन्दोलनको मर्म र भावना विपरीत भएको बताएका छन्। यसबाट विविधतामा एकता नभई एकतामा विभेद उत्पन्न गर्ने यादवले औंल्याएका छन्। जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीत कार्य भएको बताएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तै, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले सरकारले २७ पुसमा पर्ने पृथ्वीजयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णयप्रति आपत्ति जनाएको छ। महासंघ अध्यक्ष गेल्जे शेर्पाले गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु भनेको राजा–महाराजाको भक्तिगान गाउनु हो। यो प्रक्रिया प्रतिगमनकै पहिलो कदम भएको बताएका छन्। महासंघले मन्त्री तथा सांसदको सपथमा दौरासुरुवाल र खस नेपाली भाषालाई राष्ट्रिय पोसाक र राष्ट्र भाषा बनाउने गरी क्रियाकलाप भएको, यसमा नेकपा माओवादीका नेताहरू अग्र भागमा रहेको आरोप लगाएको छ। 

भृकुटीमण्डपमा चिया खाने निम्तो
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणका अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनको खुसीयालीमा २७ पुसमा जलपान कार्यक्रम गरिने घोषणा गरेको छ। राप्रपाले पृथ्वीनारायणको ३०१औं जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन जलपान आयोजना गरिन लागेको बताएको छ। बुधबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने जलपानमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न पार्टीका नेताहरू, सुरक्षा अंगका प्रमुख, सर्वसाधारणलगायतलाई चिया खान आउन निम्तो दिइएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। राष्ट्र निर्माता पृथ्यीनारायणको जन्मदिनलाई राष्ट्रिय बिदाका रूपमा मनाउने निर्णय गरेर सरकार विशेषगरी प्रधानमन्त्री प्रचण्डले राप्रपाको मात्र नभई बहुसंख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान गरेको प्रवक्ता श्रेष्ठको दाबी छ।

गोरखा नगरपालिकाको नाम बदलेर पृथ्वीनारायण राख्न पार्टीले सरकारलाई आग्रह गर्ने उनले बताए। मंगलबार सामाजिक सञ्जालमार्फत उनले गोरखा जिल्लाको गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्न प्रस्ताव गरेका हुन्। ३०१औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा उनले गोरखा नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेका हुन् । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन।
राप्रपा प्रवक्ता श्रेष्ठले गोखरा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्न प्रस्ताव गर्दै फेसबुकमा लेखेका छन् 

गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गरौं: गोरखामा पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना भइसकेको छ। सदरमुकामको ठूलो आँगनमा यो वर्ष अर्को नयाँ शालिक पनि राखिएको छ, जुन सकारात्मक र स्वागतयोग्य छ। विराट नेपालका निर्माता पृथ्वीनारायण शाहलाई राज्यको तर्फबाट दिइने सम्मानमा कुनै कञ्जुस्याइँ गरिनुहुन्न। ढिलै भए पनि सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जुन बेला बिदा कटौती गरियो, त्यसबेलादेखि नै बिदा दिनुपर्ने जनमत बलियो थियो। राप्रपाले आफ्नो पार्टीको मुख्य विषय नै बनाएको थियो।

अब यसो गरौं– गोरखा नेपाली इतिहासको ऐतिहासिक भूमि रहेकामा कसैको विमति छैन। जिल्लाको नामकरण नै गोरखा छ। यसले हाम्रो गौरव प्रतिविम्बित गरिरहेको छ। पृथ्वी भूमि भएको नगरपालिकाको नाम गोरखा कायम राखिराख्नु जरुरी छैन। नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका बनाऔं। सदरमुकाम क्षेत्र भएको नगरपालिकाको नाम सुरुआती अवस्थामा पृथ्वीनारायण नगरपालिका राखिएको थियो, अकारण नाम परिवर्तन गरियो।

सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानको पुनः थालनी गरेको परिवर्तित सन्दर्भमा गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गर्न गोरखा नगर कार्यकारिणी समिति, गोरखाका आमबुद्धिजीवी, व्यवसायीलगायत आमगोरखाबासीको ध्यानाकर्षण गराउँछु। साथै, नाम परिवर्तन गर्न, गराउन नेपाल सरकारसँग माग गर्दछु।

प्रकाशित: Jan 10, 2023| 16:13 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...