काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।
मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो। प्रतिपक्षीमा रहने गरी विश्वासको मत दिने निर्णय भएको बताइएको छ।
पार्टीको निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी र बलबहादुर केसीले भने लिखित असहमति राखेका छन्।
पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्यसम्पादन समिति बैठक बोलाउन माग गरेका थिए।कार्यसम्पादन समितिले सभापति देउवाकै चाहनाअनुसार विश्वासको मत दिने निर्णय गरेपछि चार नेताले फरक मत राखेका हुन्।
कांग्रेसले समेत विश्वासको मत दिँदा प्रधानमन्त्री दाहालले कम्तीमा २६९ सांसदको समर्थन पाउने भएका छन्। कांग्रेसका ८८ र सत्तारुढ गठबन्धनमा एमालेका ७९ (किरण साहसमेत), माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १३ (ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बैठकको अध्यक्षता गर्ने भएकाले मत दिन पाउँदैनन्), जसपाका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका ८ र नागरिक उन्मुक्ति पार्टीका ४ (लालवीर चौधरीसहित) को समर्थन प्रधानमन्त्रीलाई हुने भएको छ। तीन स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि पक्षमा मत दिने बताएका छन्।
हालसम्म विपक्षमा एक–एक सिट रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीमात्रै देखिएका छन्।
प्रकाशित: Jan 10, 2023| 12:56 मंगलबार, पुस २६, २०७९