काठमाडौं– एमालेबाट चोइटिएर नयाँ दल बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई पार्टीमा प्रवेश गराएर महासचिवको पद दिने भएको छ।
नेकपा एसमा प्रवेशका लागि नेता भुसालले तीनबुँदे प्रस्ताव राखेका छन्। उक्त प्रस्ताव स्वीकारेर नेकपा एसले भुसाललाई एक÷दुई दिनमा पार्टी प्रवेश गराउने तयारी भएको पार्टी उपमहासचिव विजय पौडेलले बताए।
भुसालले नेकपा एसमा पस्न गत सोमबार कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव नामक दस्तावेज पार्टीमा बुझाएका थिए। उनले दस्तावेजमार्फत समाजवादीको प्रस्तावमा आफू सकारात्मक रहेको बताएका छन्।
उनको सर्तमाथि छलफल सकारात्मक भइरहेकाले नेकपा एसमा प्रवेश गरी महासचिव बन्ने पक्का भएको हो। एमाले छाड्नुअघि उनी एमालेको अर्थ तथा योजना समिति संयोजक थिए। एमाले अध्यक्ष केपी ओलीले टिकट नदिएपछि उनी रुपन्देही १ बाट कांग्रेस र माओवादीको समर्थनमा चुनावी मैदानमा थिए। तर एमालेका छविलाल विश्वकर्माले पराजित गरे।
निर्वाचनलगत्तै समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई बधाइ दिन कोटेश्वरस्थित निजी निवासमै पुगेका थिए। त्यसयता नेकपा एसका नेताहरुसँग हिमचिम बढाएका भुसालले महासचिवको पदको सम्मानसहित अन्ततः पार्टी प्रवेश गर्ने निर्णय गरेका हुन्।