मंगलबार, साउन १४, २०८२

यस्तो हुन्छ संसद्‍मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया

प्रस्ताव पेससँगै प्रधानमन्त्रीले आफूलाई विश्वासको मत किन दिने भन्नेबारेमा आफ्नो सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावबारे सांसदहरुले बोल्न चाहेमा सभामुखले उनीहरुलाई बोल्न समय उपलब्ध गराउँछन्।
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आज मंगलबार प्रतिनिधिसभामा विश्वासको मत माग्दैछन्। बिहान ११ बजे बस्ने बैठकमा यसको प्रक्रिया सुरु हुने कार्यतालिका छ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया केही लामो छ। विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसद् सचिवालयलाई पत्र पठाउनुपर्छ। केही दिनअघि नै प्रम कार्यालयले यस्तो पत्र पठाएको थियो।

प्रतिनिधिसभाको बैठकमा सभामुख (अहिले ज्येष्ठ सदस्यबाट)ले सो पत्र पढेर सुनाउनेछन्। त्यसपछि आफूलाई विश्वासको मत लिनका लागि सभामुखले प्रधानमन्त्रीलाई प्रस्ताव पेस गर्न समय दिनेछन् र प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन संसद्‍मा सहभागी दलहरुसँग प्रस्ताव रख्नेछन्।

प्रस्ताव पेससँगै प्रधानमन्त्रीले आफूलाई विश्वासको मत किन दिने भन्नेबारेमा आफ्नो सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावबारे सांसदहरुले बोल्न चाहेमा सभामुखले उनीहरुलाई बोल्न समय उपलब्ध गराउँछन्। सभामुखले दिएको समयभित्र प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावमा सांसदहरुले आफ्नो धारणा राख्नेछन्। संसदमा यदि पूर्वप्रधानमन्त्री र पूर्वसभामुखले बोल्न चाहेको खण्डमा भने समयको पावन्दी रहँदैन। उनीहरुले बोल्न चाहेमा पर्याप्त समय पाउनेछन्। धेरै सांसदले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा संसदमा बोल्न चाहे भने विश्वासको मत लिने प्रक्रिया लम्बिनेछ।

संसदमा रहेका ७ भन्दा बढी दलले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइसकेका छन्। नेकपा एमाले, स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपाको समर्थनमा प्रधानमन्त्री भएका हुन् माओवादी अध्यक्ष प्रचण्ड। नेकपा एसले विश्वासको मत दिने नदिनेबारे निर्णय गरेको छैन। कांग्रेस प्रतिपक्षमा बस्ने निश्चित छ।

सांसदहरु बोलिसकेपछि सभामुखले फेरि प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध गराउँछन्। आफूले राखेको विश्वासको मत दिने प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन्। त्यसपछि मत विभाजनको प्रक्रिया सुरु हुनेछ।

मत विभाजन भइसकेपछि प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन राखेको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुन्छ। निर्णयार्थ प्रस्तुत भइसकेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया सुरु हुन्छ। सदस्यहरुलाई प्रस्तावको पक्षमा र विपक्षमा दस्तखतसहितको मत दिनका लागि समय उपलब्ध गराइन्छ। विश्वासको मत लिनका लागि ध्वनि मतको व्यवस्था हुँदैन।

प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि पनि सांसदहरुलाई आफ्नो मत सच्याउन सभामुखले समय उपलब्ध गराउनेछन्। समयसीमामा सांसदहरुले आफूले प्रधानमन्त्रीका लागि दिएको विश्वासको मत सच्याउन पाउनेछन्। यो प्रक्रिया सकिएपछि सभामुखले प्रधानमन्त्रीले पाएको विश्वासको मतको नतिजा सुनाउनेछन्। परिणाम सुनाइसकेपछि उक्त प्रस्ताव राष्ट्रपतिसमक्ष पठाउँछ संसद् सचिवालयले।

संविधानको धारा ७६ को उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधिसभामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्छन्। सोहीबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी थिइन्। प्रधानमन्त्रीमा नियुक्ति भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ।

प्रकाशित: Jan 10, 2023| 08:42 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...