विराटनगर– प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव सेवा आश्रम विराटनगरका आश्रितलाई खाना खुवाएर आफ्नो कार्यकाल सुरु गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ लिएपछि मुख्यमन्त्री कार्कीले पुष्पलाल चौकमा रहेको पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका थिए। माल्यार्पणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए। पदभार ग्रहणपछि मन्त्रिपरिषद्को बैठक सकेर मुख्यमन्त्री कार्की मानव सेवा आश्रम पुगेका थिए।
मानव सेवा आश्रममा आश्रित करिव ५ दर्जन व्यक्तिहरुलाई खाना खुवाउँदै उनले आफ्नो कार्यकालको शुरुवात गरेका छन्। मानव सेवा आश्रममा सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरेर राखिएका व्यक्तिहरु रहेका छन्।
उनीहरूलाई रातको खाना खुवाउन मुख्यमन्त्री कार्की सहित मन्त्रीहरु तिलप्रसाद मेन्याङ्बो, भक्तिप्रसाद सिटौला, निर्मला लिम्बुपनिसँगै पुगेका थिए। मुख्यमन्त्री र मन्त्रीहरुले मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाएर फर्किएका थिए।
मानव सेवा आश्रमका आश्रितका लागि प्रदेश १ सरकारले सहयोग गर्दै आएको छ।