विराटनगर– प्रदेश १ का संस्थापक मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले सुन्दर प्रदेश निर्माण गर्न नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई सुझाव दिएका छन्।
कही तिथि र विधि तलमाथि भएको भए सच्चाउदै प्रदेश संरचनालाई संस्थागत गर्दै र अधिकार सम्पन्न तुल्याउदै जनताले सोचेको र चाहेको प्रदेश निर्माण गर्न उनको सुझाव छ।
गत वर्षको कात्तिक देखि एमालेबाट विभाजित भएर बनेको एकिकृत समाजवादीका राजेन्द्र राई नेतृत्वको सरकार प्रति लक्षित गर्दै संस्थापक मुख्यमन्त्री राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चुनौतीका चाङहरु छन नै, तर कुनै सन्देह छैन, बनेको जगमा उभिएर कहि तिथि र विधिहरू तलमाथि भएको भए सच्चाउदै प्रदेश संरचनालाई सहि मानेमा संस्थागत गर्दै र अधिकार सम्पन्न तुल्याउदै सुन्दर प्रदेशलाई जनताले सोचेको र चाहेको ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ अर्थात कसैले छोडन नपर्ने, सबैलाई आउँ आउँ र बसौं बसौं लाग्ने प्रदेश बनाउनका लागि सुन्दर र बलियो इटा थपेर सफल सरकार हुने कुरामा आफू ढुक्क रहदै नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई पुर्ण र सफल कार्यकालको हार्दिक शुभकामना।’
सोमबारको सपथग्रहण समारोहमा उपस्थित भएका राईले पहिलो मुख्यमन्त्री हुदै गर्दा केही सपनाहरू बोकेर आएको भएपनि परिस्थितिले साथ नदिएको बताएका छन्।
संस्थापक मुख्यमन्त्री राईले तत्कालिन नेकपा विभाजित भएपछि २०७८ भदौ १० गते पदबाट राजीनामा दिएका थिए। राई नेतृत्वको सरकारमा नवनियुक्त मुख्यमन्त्री कार्की आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा थिए।