मंगलबार, साउन १४, २०८२

संसद्‍मा पहिलोपटक सुनिएको तिखो स्वर

अन्य सांसदले संसद्‍मा पुरानै शैली अपनाए पनि यी तीन सांसदको शैली भने केही पृथक देखिन्थ्यो। पहिलो प्रयासमा नै संसद्‍मा दरिलो उपस्थिति जनाएका लामिछाने, राउत र श्रेष्ठले के बोल्लान् भन्ने चासो धेरैको थियो।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

काठमाडौ- नयाँ प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत सोमबारदेखि सुरु भएको बैठकमा १२ दल सहभागी छन्। प्रतिनिधिसभामा सहभागीमध्ये ७ दलले समानुपातिकमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल छन् भने ५ वटा राष्ट्रिय दल बन्न नसकेका पार्टी छन्। 

राष्ट्रिय दलको मान्यता पाएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीसहित नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चा प्रतिनिधिसभामा छन्। रास्वपा, नेकपा एस, जनमत र नागरिक उन्मुक्ति पहिलोपटक संसद्‍मा सहभागी दल हुन्। नयाँ प्रतिनिधिसभाका २७५ मध्ये २०७४ मा सांसद नभएका २२० जना छन्। पहिलोपटक संसद् छिरेका सदस्यको संख्या ४५ जना रहेको छ।

आजको संसद्‍ बैठकमा पहिलेदेखि संसद्‍मा सहभागीसहित नयाँ दलका सांसदले आफ्नो विचार राखेका थिए। यीमध्ये तीन सांसद पहिलोपटक संसद् छिरेका हुन् र तीनैजना आफ्नो पार्टीका प्रमुख पनि छन्। रास्वपाका सभापति रवि लामिछाने, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमतका अध्यक्ष सीके राउत पहिलोपटक संसद्‍मा बोलेका हुन्। अन्य सांसदले संसद्‍मा पुरानै शैली अपनाए पनि यी तीन सांसदको शैली भने केही पृथक देखिन्थ्यो। पहिलो प्रयासमा नै संसद्‍मा दरिलो उपस्थिति जनाएका लामिछाने, राउत र श्रेष्ठले के बोल्लान् भन्ने चासो धेरैको थियो।

कसले के भने ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री लामिछानेले नयाँ पार्टीको उदय ठूलो कुरा नभए पनि छोटो समयमा प्राप्ति उपलब्धि आफूहरूका लागि ठूलो कुरा भएको बताए। उनले आफूहरूको सफलतालाई नेपालमा परिवर्तनका लागि जनताले बजाएको ध्वनिको संज्ञा दिए। भने, ‘हाम्रो प्राप्तिलाई निरासाको मत भनिएको छ। तर म आशाको मत भन्न चाहन्छु। यो सबै राजनीतिक दलमाथि गरिएको आशाको मत हो।’

नेपाली जनताले यस पटक जानेर मतदान गरेको उनले तर्क गरे। आफूहरूलाई नमातिने र पुराना नेतालाई सच्चिने गरी जनताले मत प्रदान गरेको उनले बताए।  अध्यक्ष लामिछानेले प्रतिपक्षीले रचनात्मक सुझाव दिए सरकारले सोहीअनुसार काम गर्ने बताए। प्रतिपक्षले कुनै विषय अड्काउने नभई सहयोग गरेर काम गर्ने अपेक्षा सरकारले लिएको उनले बताए। ‘हामीले प्रतिपक्षीको रचनात्मक भूमिकाको र  सहयोगको अपेक्षा गर्नेछौं,’ उनले भने। आफूहरूमाथिको अपेक्षा पूरा नभए देश चरम निराशामा जाने कुरामा समेत सजग रहेको उनले बताए।

लामिछानेले भ्रष्टाचारका फाइल खोल्नुपर्ने र निर्मम भएर छानबिन गर्दै कारबाही गर्नुपर्ने धारणा राखे। गृहमन्त्रीसमेत रहेका लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानको पक्षमा सबै दल र सांसद एकै ठाउँमा उभिनुपर्ने बताउँदै भ्रष्टाचारका पुराना फाइल खोलेर छानबिन गर्नुपर्नेमा जोड दिए।

भ्रष्टाचारीलाई छुटाउन वा कारबाही गर्नबाट रोक्न कुनै पनि बाधा नपुर्‍याउन सबैलाई आग्रह गर्दै उनले आफू र आफ्ना सांसदहरुले अनियमितता नगर्ने र कुनै पनि काण्डमा नमुछिने वाचा गरे। उनले आफ्नो दलले जनअपेक्षा अनुरुप काम नगरे वा गर्न नसके सरकार र सत्तामा टाँसिएर नबस्ने पनि बताएका छन्।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले रेशम चौधरीलाई कांग्रेस, एमाले र माओवादीजस्ता ठूला पार्टीका कार्यकर्ता नभएकै कारण झुटा मुद्दा लगाएको आरोप लगाइन्। उनले आफ्नो अधिकार मागेर हिँडका चौधरीसहित राजबन्दीलाई थारूको छोरा भएकै कारण जेलमा हालेको तर्क गरिन्।

रेशमकी पत्नीसमेत रहेकी रञ्जिताले चौधरीलाई राज्यले विभिन्न चरणमा सम्मान गरेको स्मरण गराइन्। टीकापुरमात्र होइन, अन्य स्थानमा भएका हत्याहिंसाको पक्षमा आफूहरू पनि नरहेको भन्दै उनले न्यायका नाम ज्यादती गर्न नपाइने बताइन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले अदालतको आदेश नमानेको पनि उनले आरोप लगाइन्। शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, गगन थापा, रवि लामिछानेले समेत रेशम चौधरी निर्दोष रहेको बताएको स्मरण गराउँदै उनले उनको न्यायका लागि सहयोग गर्न आग्रह गरिन्।

जनमत पार्टीका अध्यक्ष राउतले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै उनले अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले त्यो सम्भव भएको बताए। राउतले भने, ‘कुनै बेला मेरो नाममात्रै लिन पनि निषेध गरिएको थियो, त्यो ठाउँमा आज आफैं आएर उभिँदा नयाँ अनुभूति भएको छ। यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु।’ प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ दलहरूमा उत्साह र आवेग रहेको भन्दै दिएको अभिव्यक्तिमा राउतले भने, ‘प्रधानमन्त्रीले नयाँ दलहरुमा आवेग पनि छ भन्नुभयो। हामीमा आवेग मात्रै नभएर अग्रजहरुप्रति सम्मान पनि रहेको छ। नयाँ दलहरूमा रहेको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा हो। त्यसलाई सकारात्मक परिवर्तनको लागि प्रयोग गरिनेछ।’

राउतले मुलुकको अखण्डताप्रति आफू प्रतिबद्ध रहेको बताए। संघीयतालाई थप बलियो बनाउनुपर्ने उनको धारणा छ। विगतमा दरबारमा टिकट काटेर पनि हेर्न नपाउने मुलुकको सर्वोच्च निकायमा जनताको सन्तान पुगेको भन्दै उनले जनमत पार्टी गणतान्त्रिक व्यवस्थाप्रति कटिबद्ध रहेको बताए। 

सरकारले बहुदलीय लोकतन्त्रलाई संरक्षण गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीका आकांक्षा पूरा गर्न लाग्नुपर्ने राउतको भनाइ थियो। राउतले आफ्नो निर्वाचन क्षेत्रबाट विगतमा संसद्मा प्रतिनिधित्व गर्ने स्वर्गीय गजेन्द्रनारायण सिंहलाई स्मरण गरे। मंसिर ४ को निर्वाचनमा आफूसँग पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति पनि सम्मान रहेको भन्दै उनले स्मरण गरेका थिए।

प्रकाशित: Jan 09, 2023| 18:11 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...