काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट २६ पुसमा लिन लागेको विश्वासको मतमा सिंगै संसद् आफूतिर उभिने विश्वास व्यक्त गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिंगै हाउस विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ,’ उनले भने।
प्रतिनिधिसभाको पहिलो बैठकमा शान्तिपूर्ण वातावरणमा सबै पार्टी र स्वतन्त्र सांसदले आ–आफ्नो धारणा राखेको उल्लेख गर्दै उनले नयाँ सुरुआत गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै सांसदबाट व्यक्त भएको सुनाए। प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यतालिका छ।
प्रतिनिधिसभाको सोमबारे बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रधानमन्त्री प्रचण्डबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे सांसदलाई जानकारी गराएका थिए।