काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालमा बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए।
अध्यक्ष प्रचण्डको नेतृत्वमा गत १० पुसमा नयाँ सरकार गठन भएको थियो। सरकारले मंगलबार विश्वासको मत लिँदै छ। सरकार गठनको क्रममा १६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए। संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
बैठकमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सांसदले निर्वाह गर्नुपर्ने समग्र भूमिकाबारे दिशानिर्देश गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए।
बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले सबै सांसदलाई व्यक्तिगत रुपमा पनि सरकारको पक्षमा विश्वासको मत दिने वातावरण बनाउन र अन्य दलका सांसदहरुसँग पनि छलफल गर्न आग्रह गरेको उनले बताए।
बैठकमा प्रधानमन्त्री दाहालले सरकार गठनका क्रममा समर्थन गर्ने दल र सांसदका अलावा नेपाली कांग्रेसलगायतका अन्य दल तथा सांसदसँग पनि छलफल भएको जानकारी गराएका थिए।