काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले संसद्मा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकमा उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै उनले अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले त्यो सम्भव भएको बताए।
राउतले भने, ‘कुनै बेला मेरो नाममात्रै लिन पनि निषेध गरिएको थियो, त्यो ठाउँमा आज आफैं आएर उभिँदा नयाँ अनुभूति भएको छ। यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु।’ प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ दलहरूमा उत्साह र आवेग रहेको भन्दै दिएको अभिव्यक्तिमा राउतले भने, ‘प्रधानमन्त्रीले नयाँ दलहरुमा आवेग पनि छ भन्नुभयो। हामीमा आवेग मात्रै नभएर अग्रजहरुप्रति सम्मान पनि रहेको छ। नयाँ दलहरूमा रहेको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा हो। त्यसलाई सकारात्मक परिवर्तनको लागि प्रयोग गरिनेछ।’
राउतले मुलुकको अखण्डताप्रति आफू प्रतिबद्ध रहेको बताए। संघीयतालाई थप बलियो बनाउनुपर्ने उनको धारणा छ। विगतमा दरबारमा टिकट काटेर पनि हेर्न नपाउने मुलुकको सर्वोच्च निकायमा जनताको सन्तान पुगेको भन्दै उनले जनमत पार्टी गणतान्त्रिक व्यवस्थाप्रति कटिबद्ध रहेको बताए।
सरकारले बहुदलीय लोकतन्त्रलाई संरक्षण गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीका आकांक्षा पूरा गर्न लाग्नुपर्ने राउतको भनाइ थियो। राउतले आफ्नो निर्वाचन क्षेत्रबाट विगतमा संसद्मा प्रतिनिधित्व गर्ने स्वर्गीय गजेन्द्रनारायण सिंहलाई स्मरण गरे। मंसिर ४ को निर्वाचनमा आफूसँग पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति पनि सम्मान रहेको भन्दै उनले स्मरण गरेका थिए।