काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ पार्टीको उदय ठूलो कुरा नभए पनि छोटो समयमा प्राप्ति उपलब्धि आफूहरूका लागि ठूलो कुरा भएको बताएका छन्।
प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूको सफलतालाई नेपालमा परिवर्तनका लागि जनताले बजाएको ध्वनिको संज्ञा दिए। भने, ‘हाम्रो प्राप्तिलाई निरासाको मत भनिएको छ। तर म आशाको मत भन्न चाहन्छु। यो सबै राजनीतिक दलमाथि गरिएको आशाको मत हो।’
नेपाली जनताले यस पटक जानेर मतदान गरेको उनले तर्क गरे। आफूहरूलाई नमातिने र पुराना नेतालाई सच्चिने गरी जनताले मत प्रदान गरेको उनले बताए।
अध्यक्ष लामिछानेले प्रतिपक्षीले रचनात्मक सुझाव दिए सरकारले सोहीअनुसार काम गर्ने बताए। प्रतिपक्षले कुनै विषय अड्काउने नभई सहयोग गरेर काम गर्ने अपेक्षा सरकारले लिएको उनले बताए। ‘हामीले प्रतिपक्षीको रचनात्मक भूमिकाको र सहयोगको अपेक्षा गर्नेछौं,’ उनले भने। आफूहरूमाथिको अपेक्षा पूरा नभए देश चरम निराशामा जाने कुरामा समेत सजग रहेको उनको भनाइ छ।
लामिछानेले भ्रष्टाचारका फाइल खोल्नुपर्ने र निर्मम भएर छानबिन गर्दै कारबाही गर्नुपर्ने धारणा राखे। गृहमन्त्रीसमेत रहेका लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानको पक्षमा सबै दल र सांसद एकै ठाउँमा उभिनुपर्ने बताउँदै भ्रष्टाचारका पुराना फाइल खोलेर छानबिन गर्नुपर्नेमा जोड दिए।
भ्रष्टाचारीलाई छुटाउन वा कारबाही गर्नबाट रोक्न कुनै पनि बाधा नपुर्याउन सबैलाई आग्रह गर्दै उनले आफू र आफ्ना सांसदहरुले अनियमितता नगर्ने र कुनै पनि काण्डमा नमुछिने वाचा गरे। उनले आफ्नो दलले जनअपेक्षा अनुरुप काम नगरे वा गर्न नसके सरकार र सत्तामा टाँसिएर नबस्ने पनि बताएका छन्।