काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सांसद बुद्धिमान तामाङले सरकार बनाउन पहल गरेका कारण प्रचण्डलाई राप्रपाले विश्वासको मत दिने बताए। प्रधानमन्त्री प्रचण्डले २६ पुसमा संसदमा विश्वासको मत लिँदैछन्।
बैठकमा उपाध्यक्ष ध्रुवबहादुर प्रधानले प्रतिनिधिसभाको पहिलो र विश्वासको मत लिने दिनको बैठकबारे पार्टीका सांसदहरुलाई जानकारी गराएका थिए।
लोकतान्त्रिक समाजवादी पार्टीले भने सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्न सकेन। यो अधिकार उसले अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ।
बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो।