काठमाडौं- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन्। आइतबार काठमाडौं आइपुगेका उनले ट्विट गर्दै नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनले पत्रकार सम्मेलन पनि आयोजना गरेकमा थिए। त्यसक्रममा उनले चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने बताए। सबै क्षेत्रका नेपालीहरुबाट नजिक भएर काम गर्न चाहेको बताउँदै उनले नेपालको विकास, समृद्धि र चिरस्थायी मित्रतामा सहयोग गर्ने बताए।
चेन नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन्। यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो।