काठमाडौं- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन्। नेवाः पत्रकार दवुको चौथो महाधिवेशनमा उनले छ दशक लामो सङ्घर्ष र बलिदानीमार्फत एकात्मक शासन प्रणालीको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकाले अब सामाजिक न्यायसहित समृद्धि हासिल गर्न लागिपर्नुपर्ने बताए ।
‘सामन्ती, निरंकुश राजतन्त्र र एकात्मक राज्य व्यवस्थाको अन्त्य गरेर राजनीतिक प्रणालीको रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौँ । आजको मुख्य आवश्यकता भनेकै राजनीतिक परिवर्तनलाई आधार बनाएर सामाजिक–आर्थिक रुपान्तरण गर्ने र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने हो’, मन्त्री श्रेष्ठले भने, ‘नेपाली जनताको परिवर्तनको अनुभूति गर्नसक्ने गरी व्यक्तिको सामाजिक, आर्थिक रुपान्तरणको गुणात्मक बढाउनु सरकारको उद्देश्य रहेको छ ।’
सबै सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै देखापरेका समस्या र कमजोरीलाई निराकरण गरेर समृद्धिको गुणात्मक दिशातिर जाने सङ्कल्प वर्तमान सरकारले गरेको पनि उपप्रधानमन्त्री श्रेष्ठले प्रष्ट्याए ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्न, काउन्सिलले प्रदान गर्ने पत्रकारिता पुरस्कार समावेशीरूपमा वितरण गर्न र विविध भाषाको पत्रकारितालाई प्रवद्र्धन गर्न काउन्सिल जिम्मेवार ढङ्गले लाग्ने बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गजुरधन राईले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन नेवाः पत्रकार दबुसँगै फोनिजले राज्यको ध्यानाकर्षण गराउँदै आएको बताए ।