काठमाडौं- सर्वोच्च बार एसोसिएसनको चुनाव आज हुँदै छ। बारको ३४औं कार्यसमिति चयनका लागि हुन लागेको चुनावमा सत्तापक्ष र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने छ।
बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह चुनावी मैदानमा छन्। ६ सय २१ जना मतदाता रहेको सर्वोच्च बारमा पदाधिकारी तथा सदस्यहरूको कार्यकाल दुई वर्षको हुन्छ।
बृहत् लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।
एक उपाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले उम्मेदवार छन्।
यसैगरी, सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्रीबीच प्रतिस्पर्धा हुने छ। सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सङ्गीना शाक्य प्रतिस्पर्धीका रूपमा छन्।
एक कोषाध्यक्ष पदका लागि लोकतान्त्रिकबाट रामचन्द्र पौडेल र प्रगतिशीलबाट कपिलचन्द्र पोखरेलले उम्मेदवारी दिएका छन् भने एक महिला सदस्यका लागि लोकतान्त्रिकबाट कमला रोका गिरी र प्रगतिशीलबाट सिर्जना कँडेलबीच प्रतिस्पर्धा हुने छ।