काठमाडौं– सरकारको नेतृत्वबाट विमुख हुनुपरेको पीडामा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीले लिने आगामी रणनीतिबारे छलफल गर्न धुम्बाराही निवास बोलाएका छन्।
संसदीय दलको चुनावमा उठेर आफूलाई पराजित गरेका थापासँग पछिल्लो समय पार्टी सभापति देउवाको सम्बन्ध खासै राम्रो थिएन। थापालाई सघाएका अर्का महामन्त्री शर्मासँग पनि पार्टी सभापति देउवाको हिमचिम थिएन। तर प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक सभापति देउवाले पार्टीका दुई महामन्त्रीलाई आफ्नै निवासमा बोलाएर छलफल गर्न लागेका हुन्।
यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दा महामन्त्रीद्वयसँग फोन संवाद गरेका थिए। पाँच दलीय गठबन्धन टुट्दासमेत महामन्त्रीद्वय लिटरेचल फेस्टिबलमा सहभागिता जनाउन पोखरा पुगेका थिए। पोखराबाटै उनीहरुले पार्टी सभापति देउवासँग प्रचण्डको गाँठो फुस्किएको सञ्चार माध्यमबाट मात्रै थाहा पाएको सुनाएका थिए।
सभापति देउवासँग महामन्त्रीद्वयले अहिले छलफल गरिरहेका छन्। ‘महामन्त्रीद्वयसँग समसामयिक राजनीतिक घटनाक्रम र अब बस्ने केन्द्रीय समितिलगायत विषयमा सभापतिले छलफल गर्न लाग्नुभएको हो। यो औपचारिक छलफल होइन। सभापतिले अनौपचारिक रूपमा पार्टीका उपसभापतिलगायत नेताहरूसँग छलफल गरिरहनुभएको छ। यो छलफल त्यसैको निरन्तरता हो,’ कांग्रेसका एक पदाधिकारीले भने।
बैठकमा संसदीय दलको बैठकका एजेन्डाबारे छलफल हुने बताइएको छ। कांग्रेसले शनिबारका लागि संसदीय दलको बैठक आह्वान गरेको छ।गठबन्धनलाई चुनावपछि कायम राख्न नसकेको भन्दै महामन्त्रीद्वय थापा र शर्माले देउवाको आलोचना गर्दै आएका छन्। कांग्रेसले २८ पुसमा केन्द्रीय समिति बैठक बोलाएको छ।