आइतबार, साउन १९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वराजा ज्ञानेन्द्रसँग डेढ घण्टा गफिएपछि रवीन्द्र मिश्रले भने– राजसंस्था अपरिहार्य

पूर्वराजा ज्ञानेन्द्रसँग डेढ घण्टा गफिएपछि रवीन्द्र मिश्रले भने– राजसंस्था अपरिहार्य

पूर्वराजा ज्ञानेन्द्र शाहसँगको तस्बिर ट्विटरमा सेयर गर्दै उनले बढ्दो भूराजनीतिक–आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष आफूले निकालेको बताएका हुन्।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं– राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा राजसंस्था अपरिहार्य रहेको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहसँगको तस्बिर ट्विटरमा सेयर गर्दै उनले बढ्दो भूराजनीतिक–आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष आफूले निकालेको बताएका हुन्। 

मिश्रले लेखेका छन्–

१५ वर्षपछिको प्रेमपूर्ण भेट ! 

असोचनीयस्तरको प्रतिकूलता व्यहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैंको शालीनता–सौम्यता–समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था। बढ्दो भूराजनीतिक–आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष।

राजाबाट गल्ती भएन भनेर मैले कहिल्यै भनिन। संसारमा एक या अर्को प्रकारको गल्ती नगर्ने राजा छँदा पनि छैनन्। परिपक्व राजनीतिकर्मीहरू देशको दूरगामी हितलाई ध्यानमा राखी फाइदा र हानीलाई समग्रतामा मूल्यांकन गरेर मात्र ऐतिहासिक महत्व बोकेका संस्था राख्ने या हटाउने निर्णय गर्छन्। तर स्वार्थकेन्द्रीत र अपरिपक्व नेपाली राजनीतिकर्मीहरूले एकछिनको आवेगमा राजासँग व्यक्तिगत प्रतिशोध साँध्न देशको दूरगामी हित/अहितका बारे सोच्दै नसोची २४० वर्ष पुरानो संस्था फ्याँकिदिए। त्यो पनि राजतन्त्रको ‘निरंकुशता’को अंश मात्र हटाउने भनि गरिएको १२ बुँदे सहमतिको विपरित गएर।

पुनर्स्थापित संसदको पहिलो बैठक (वैशाख ४, ०६३)ले राजासँग भएको समझदारी अनुरूप राजसंस्थालाई निरन्तरता दिन जेठी छोरी पनि उत्तराधिकारी हुनसक्ने भनि गरिएको निर्णयको विपरित गएर। चुनाव हारेर ‘जनप्रतिनिधि नै नरहेका’ कृष्णप्रसाद सिटौलालाई संविधानसभामा गणतन्त्रको प्रस्ताव फ्लोर गर्न दिएर। संसद पुनर्स्थापना मार्फत आफ्नो गल्ती सच्याइसकेका राजालाई यसरी षडयन्त्र गरेर, विदेशीको प्रभावमा परेर, ढाँटेर/छलेर गद्दीच्युत गरिएको थियो। त्यसपछि दर्जनौ स्वदेशी र विदेशी राजा जन्मिए। पृथ्वीनारायण शाहलाई सरापेर मार्क्स र माओलाई माला लाउन थाले। 

अहिलेका अधिकांश राजनीतिकर्मीलाई अन्तर्राष्ट्रिय भूराजनीतिको भूमरीमा पर्न लागेको नेपाल, नेपालभित्र बढ्दै गएको जातीय र धार्मिक संवेदनशीलता तथा नेपाली सेनाबाहेक राजनीतिले बेस्कन गिजोलिएको र लगभग पूर्णत क्षयीकृत भएका नेपालका सबै संस्थाहरूबारे मतलबै छैन। नेपालजस्तो कमजोर र कुनै पनि बेला ‘असफल राज्य’ मा परिणत हुनसक्ने देशमा संकटको घडीमा अभिवावकीय भूमिका खेल्न सक्ने एउटा संस्था नराख्ने हो भने संकटमा फसिसकेपछि त्यो खोजेर पनि पाइँदैन। ढिलो भइसकेको हुनेछ।

म पत्रकार हुँदा सन् २००७ मा उनलाई दुईपटक भेटेको थिएँ। त्यसपछिको भेट यही नै हो। देशको हितलाई हेरेर, विचारभन्दा माथि उठेर, सबै पक्ष राजसंस्थाको छिटोभन्दा छिटो पुनर्स्थापनामा सहमत होउन् भन्ने कामना गर्दछु! यो नेपालका लागि मात्र नभएर, दक्षिण एशियाकै दिर्घकालीन हितमा हुनेछ। 

प्रकाशित: Jan 05, 2023| 14:30 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...