काठमाडौं– प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षी हुन पुगेको नेपाली कांग्रेस यतिबेला आन्तरिक कलहमा फसेको छ। पार्टी सभापति शेरबहादुर देउवाकै कारण कांग्रेस सत्ता विमुख हुन पुगेको नेता, कार्यकर्ताहरुले आक्षेप लगाइरहेका छन्।
कांग्रेस नेता बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर आजकै दिन २०३३ मा भारत निर्वासनबाट नेपाल फर्किएका थिए। सोही दिनको सम्झना गर्दै कांग्रेसले शनिबार मुलुकभर विभिन्न कार्यक्रम गरिरहेको छ।
कांग्रेस महामन्त्रीद्वय महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अहिलेको परिस्थितिको गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै अबको बाटो तय गरिने विज्ञप्ति जारी गरेका छन्। मेलमिलाप दिवसमा शुभकामना दिँदै महामन्त्रीद्वयले यस्तो बताएका हुन्।
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्ष बन्न पुग्दा पार्टीमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु स्वाभाविक भएको महामन्त्रीद्वयले भनेका छन्।
उनीहरुले आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। यस्तै, यसबीचमा भएको पार्टी नेतृत्वको असावधानी, कमजोरी र गल्तीलाई ढाकछोप नगरी पारदर्शी छलफलमार्फत कारण र कारकको प्रस्ट पहिचान गरेर अबको मार्गचित्र तय गरिनुपर्ने उनीहरुले शुभकामना वक्तव्यमा उल्लेख गरेका छन्।
कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ,’ महामन्त्रीद्वयले जारी गरेको वक्तव्यमा भनिएको छ। अबका दिनमा कांग्रेसले जिम्मेवार प्रतिपक्षको रूपमा सशक्त भूमिका निर्वाह गर्ने पनि उनीहरूले उल्लेख गरेका छन्।
अहिलेको परिस्थितिलाई संकटको रूपमा लिने छुट नभएको बताउँदै पार्टी शुद्धीकरण र पुनर्जागरणलाई अवसरमा बदल्ने गरी प्रस्तुत हुनुपर्ने संकल्प उनीहरुले सार्वजनिक गरेका छन्।