शनिबार, साउन २५, २०८२

खुमलटारमा प्रचण्ड-ओली सुलह : माधव नेपाल कुरिरहेको खाली कुर्सी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बुधबार मध्यान्न खुमलटार पुगे।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बुधबार मध्यान्ह खुमलटार पुगे। खुमलटारमा ओलीको भव्य स्वागत गरियो। ओलीलाई प्रचण्ड पुत्री गंगा दाहाललगायतले स्वागत गरेका थिए। दैलोमै पुगेर प्रचण्डले ओलीसँग हात मिलाउँदै स्वागत गरे।

त्यसलगत्तै दुई नेताहरू प्रचण्ड निवास खुमलटारको छतमा बसे। छतमा एउटा टेबल राखिएको थियो अनि टेबलमाथि टोकरीमा केही सुन्तला। त्यसको वरिपरि तीन वटा कुर्सी। छेवैमा थियो सुकाइएको गुन्द्रुक।

केहीबेर प्रचण्ड निवासको छतमा फोटो सेसन चल्यो। धेरैले उभिएरै फोटो खिचे। त्यहीबीचमा ओली, प्रचण्ड र गंगा कुर्सीमा बस‍े। केही बेरमा गंगा पनि उठेर गइन्। ओली र प्रचण्डबीच 'वान टू वान' संवाद सुरु भयो।

उनीहरू बीचमा एउटा कुर्सी खाली थियो। आज बिहानमात्रै प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए। उनको अर्को आग्रह थियो, ओलीसँग संवाद गर्न। त्यसैले प्रचण्डले आज दिउँसो आफू र ओलीबीच हुने भेटमा नेपाललाई पनि सहभागी हुन निम्तो दिएका थिए। 

ओली र नेपालबीचको तिक्तता हटाउन प्रधानमन्त्री प्रचण्डले मध्यस्थता गरेको बुझ्न सकिन्छ। र, उनीहरूबीच रहेको खाली कुर्सीलाई पनि नेपालको आगमन भए स्वागतका लागि तयार राखिएको संकेतका रुपमा लिन सकिन्छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले १६ महिनाअघि सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्रीको पद सम्हालेपछि नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको थियो। तत्कालीन पाँच दलीय गठबन्धनका सूत्रधार देउवासँगै प्रचण्डलाई पनि मानिएको थियो।

कांग्रेससँग गठबन्धन गरेर आफूलाई पदच्युत गरेको आरोप लगाउँदै ओली-प्रचण्ड सम्बन्धमा फाटो आएको थियो। यतिसम्म कि सार्वजनिक कार्यक्रममा समेत एकले अर्कालाई भाउ दिँदैन थिए। उनीहरूबीच बोलचालसमेत बन्द थियो। प्रचण्डका लागि बालकोटभन्दा बुढानीलकण्ठ र बालुवाटार नजिक थियो।

४ मंसिरको चुनावपछि प्रधानमन्त्रीको आकांक्षी रहेका प्रचण्डलाई देउवाले बेवास्ता गरे। त्यसपछि प्रचण्डका लागि एकाएक बालकोट नजिक हुनपुग्यो। त्यसको परिणाम प्रचण्डले प्रधानमन्त्री उपहार पाए। ओलीसँगको सम्बन्ध सुध्रिएसँगै दुवै नेताहरू एकअर्काको घरमा आउजाउ गर्न थालेका छन्।  

प्रकाशित: Dec 28, 2022| 13:01 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...