काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सत्ता प्रस्ताव गरेका छन्। बुधबार बिहान हात्तीवनमा नेपाललाई भेटेर उनले सहकार्यको प्रस्ताव राखेका हुन्।
माओवादीका एक नेताका अनुसार हात्तीवनस्थित प्रचण्डका एक आफन्तको निवासमा दुईबीच भेट भएको हो। उक्त भेटमा नेपालसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि थिए। जसपाले यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ। नेकपा एससहित अन्य साना दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रचण्डको छ। भेटवार्ता अहिले जारी रहेको छ।
माओवादीले कांग्रेससहितको गठबन्धन तोडेर एमालेसहित ७ दलको समर्थनमा सरकार बनाएको थियो। उक्त निर्णयपछि नेकपा एस असन्तुष्ट बनेको थियो। असन्तुष्ट पक्षलाई फकाएर सरकारमा सहभागी गराउने योजना प्रचण्ड र नेकपा एमालेको छ। अन्य दलहरूलाई पनि सरकारमा ल्याई दुई तिहाइ पुर्याउने रणनीति उनीहरूको छ।
प्रचण्ड आइतबार ७ दलका १६६ सहित तीन स्वतन्त्रसमेत गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। ७ मध्ये राप्रपा र नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा सहभागी नहुने बताएको छ।
अहिले सरकारलाई १६९ सांसदको समर्थन रहेकोमा नेकपा एसका १०, लोसपाका ४ समेटेपछि सरकारका पक्षमा १८३ सांसद पुग्नेछन्। जुन दुई तिहाइ संख्या हो। दुई तिहाइको सरकारले संविधान संशोधनसम्मको निर्णय गर्नसक्छ।